
पोखरा । पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञलाई सांस्कृतिक रूपमा थप आकर्षक बनाउँदै आयोजकले गण्डकी प्रदेशस्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी आयोजना गर्ने भएका छन्।
मानव सेवा फाउन्डेसन नेपालद्वारा आयोजित यस महायज्ञ अन्तर्गत गण्डकी प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कृति झल्काउने झाँकीहरू एकै मञ्चमा प्रस्तुत गरिनेछ। विविधतामा एकता झल्काउने उद्देश्यले आयोजना गरिने यो झाँकी प्रदर्शनीमा सहभागी हुने समूहहरूलाई पुरस्कार र सम्मानका साथ प्रेरणा प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ।
प्रतियोगितामा उत्कृष्ट ठहरिने समूहहरूलाई आकर्षक नगद राशिसहित सम्मान गरिनेछ। पहिलो स्थान हासिल गर्ने समूहले ३१,१३१ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रोले २५,५२५ रुपैयाँ, तेस्रोले २१,१२१ रुपैयाँ र चौथो स्थान हासिल गर्ने समूहले १५,५१५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्नेछन्।
कास्की जिल्लाबाहिरबाट सहभागी हुने सांस्कृतिक टोलीहरूका लागि यातायातको सहजीकरणसमेत गरिएको छ। आयोजकले उनीहरूको आउ–जाउको बस भाडा व्यवस्था गर्ने बताएको छ।
झाँकी प्रदर्शनीमा सहभागी हुन इच्छुक समूहहरूले ९८५६०३२४७३, ९७६३२५२१२१ वा ९७०५२५२१२५ नम्बरमा सम्पर्क गरी आफ्नो टोलीको नाम दर्ता गराउन सक्नेछन्।
सांस्कृतिक झाँकीसँगै महायज्ञले धार्मिक र शैक्षिक पक्षलाई समेत समेट्दै राष्ट्रिय भजन प्रतियोगिता तथा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गर्दैछ। आयोजकले यी कार्यक्रमहरूले महायज्ञलाई अझ जीवन्त, समृद्ध र जनसंलग्न बनाउने विश्वास व्यक्त गरेका छन्।