
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सुरु भएको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ ले पोखरा मात्र होइन, सम्पूर्ण नेपालको धार्मिक इतिहासमा नयाँ कीर्तिमान स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।
गण्डकी प्रदेशकी माननीय विन्दु पौडेलले सोमबार महायज्ञको प्रमुख अतिथि भएर सहभागिता जनाउँदै यो ऐतिहासिक धार्मिक आयोजनाले देशको गौरव बढाउने दाबी गरिन्। “नेपालमा कोटिहोम महायज्ञजस्तो अद्वितीय कार्यक्रम पहिलोपटक पोखरामा आयोजना हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो। यसले धार्मिक इतिहासमा कोसेढुंगा थप्नेछ,” उनले भनिन्।
धार्मिक क्षेत्रको समृद्धिसँगै सामाजिक एकता र सद्भावलाई पनि बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा स्थानीयवासी, श्रद्धालु र धार्मिक पर्यटकको उल्लेखनीय सहभागिता देखिएको छ। पौडेलका अनुसार, यस्ता कार्यक्रमहरूले नेपालको मौलिक संस्कृति र धार्मिक पहिचानलाई विश्वसामु चिनाउने अवसर दिन्छन्।
आयोजक समितिका अनुसार, महायज्ञको माध्यमबाट पोखरालाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। कार्यक्रममा विविध धार्मिक अनुष्ठान, प्रवचन, सांस्कृतिक प्रस्तुति लगायत गतिविधिहरू हुँदै आएका छन्, जसले धार्मिक वातावरणलाई थप जीवन्त बनाएको छ।
बिरौटामा जारी यो विराट् ज्ञान महायज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई एकैसाथ उजागर गर्दै आगामी दिनमा पोखराको धार्मिक पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।