
पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा नं. १७, बिरौटामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने दाबी गरेका छन्। मंगलबार महायज्ञमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
वडा अध्यक्ष आचार्यले भने, “यो कोटिहोम महायज्ञले हामी सबैलाई धार्मिक बनाउँछ। पछिल्लो समय देखिएका सामाजिक विकृतिहरू हटाउन पनि यो महायज्ञ निकै प्रभावकारी हुनेछ। हाम्रो आँगनमै सञ्चालित यस्तो अनुपम अवसरको दर्शन नगर्ने व्यक्तिलाई म साँचो अर्थमा पोखरेली मान्न सक्दिन।”
यो महायज्ञ पोखरामा धार्मिक चेतना फैलाउने मात्र नभई सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाले घोषणा गरेको सन् २०२५ को पर्यटन वर्ष सफल बनाउन पनि यस्ता धार्मिक आयोजनाहरू कडी सावित हुने उनले बताए।
महायज्ञको पूर्वसन्ध्यामा हाल श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम चलिरहेको छ। चर्चित अन्तर्राष्ट्रिय कथा वाचिकाहरू देवी प्रतिभा र सुप्रिया किशोरीले कथा प्रवचनमार्फत भक्तजनमा आध्यात्मिक ज्ञान फैलाइरहेका छन्।
दैनिकजसो बढ्दो भक्तजनको उपस्थिति, श्रद्धा र उत्साहले महायज्ञस्थल भव्य र दिव्य बनेको छ। धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा पोखराको पहिचान बोक्ने यस महायज्ञलाई दानवीरहरू, संस्थाहरू र स्थानीय समुदायको सहयोगले अझ सफल बनाउँदै लगिएको छ।