पोखरा बिरौटामा ऐतिहासिक कोटिहोम महायज्ञको सन्देश फैलाउँदै भव्य साइकल र्याली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको बिरौटामा आयोजना हुने श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार तथा धार्मिक–सामाजिक एकताको सन्देश प्रवाह गर्न भव्य साइकल र्यालीको आयोजना गरिएको छ। मानवसेवा फाउण्डेशनको अगुवाइमा यहि बैशाख ११ गते बिहान ७ बजे सुरु हुने साइकल र्याली कोटिहोम स्थलबाट सुरु भई शहरका प्रमुख चोक–चौतारी परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर समापन हुने कार्यक्रम रहेको छ।

र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, इन्धन बचत र स्वदेशी पर्यटन प्रवर्द्धनका सन्देश बोकेर ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, महेन्द्रपुल, सभागृहचोक, पृथ्वीचोक हुँदै पार्दी क्षेत्रसम्मको यात्रा गर्नेछ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार, “यो र्यालीले धार्मिक जागरणसँगै पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्नेछ। साथै, स्वस्थ जीवनशैली अपनाउने र स्वच्छ वातावरण निर्माणमा नागरिकको सहभागिता बढाउने हाम्रो उद्देश्य हो।”

फाउण्डेशनले प्रचारात्मक गतिविधिलाई विस्तार गर्दै बैशाख १२ गते मोटरसाइकल र्याली, १३ गते ट्याक्सी र्याली, १४ गते फेवातालमा डुङ्गा र्याली तथा १६ गते बृहत् कशेली यात्रासमेत आयोजना गर्ने जानकारी दिएको छ।

सांस्कृतिक र धार्मिक मूल्यहरूको संरक्षण गर्दै आधुनिक सामाजिक सचेतनाको सन्देश फैलाउने यस साइकल र्यालीबाट पोखराको पर्यटन सम्भावनालाई थप उजागर हुने र स्थानीय समुदायमा उत्साह थपिने विश्वास लिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्