
पोखरा । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि एक सर्वसाधारणमाथि ट्राफिक प्रहरीले गरेको निर्घात कुटपिटको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ। मंसिर २३ गते दिउँसो करिब १ बजे भएको उक्त घटनापछि जनआक्रोश चुलिएपछि चार जना ट्राफिक प्रहरीलाई तत्काल जिम्मेवारीबाट हटाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाबारे छानबिन सुरु गरिसकेको जानकारी दिएको छ। कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार, कुटपिटमा संलग्न चारै जना ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तबाट हटाई उपत्यका प्रहरी कार्यालयमा झिकाइएको हो।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएअनुसार, एक व्यक्तिलाई भुइँमा लडाएर पटक–पटक हिर्काइएको छ भने एक ट्राफिक प्रहरीले बुटले समेत प्रहार गरेका छन्। यति मात्र हैन पीडितको कागजात भुइँमा फालिएको र प्रहरीहरु त्यहाँबाट हिँडेको दृश्यले आम जनमानसमा आक्रोश पैदा गराएको छ।
घटनापछि धेरैले प्रहरीको यस्तो क्रियाकलापलाई ‘राज्य आतंक’ को संज्ञा दिँदै आलोचना गरेका छन्। सामाजिक सञ्जालमा “न्याय पाउने आशा प्रहरीबाट होइन” भन्ने जस्ता प्रतिक्रियाले आम नागरिकको असन्तोष प्रकट भएको छ।
आफूहरुले भने घट्नाकाे छानबिन सुरु गरिसकेकाे एसपी घिमिरेले बताए । उनले भने-‘दोषी ठहरिए प्रहरी नियमावलीअनुसार कडा कारबाही हुनेछ।’ उनका अनुसार छानबिन निष्पक्ष र पारदर्शी हुने प्रतिबद्धता प्रहरीको छ।
यो घटनाले ट्राफिक प्रहरीको व्यवहार, जिम्मेवारीप्रतिको दृष्टिकोण र आम नागरिकप्रतिको सम्मानमाथि गम्भीर प्रश्न खडा गरेको छ। सर्वसाधारणले यस्ता घटनाले प्रहरी प्रतिको जनविश्वास गुम्ने खतरा रहेको भन्दै तत्काल निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग गरेका छन्।