
पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा आज बिहान भव्य मोटरसाइकल र्याली सम्पन्न भएको छ। वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यस र्यालीमा सयौं मोटरसाइकल चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्याली बिहान ७ बजे बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितलादेवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक लगायतका विभिन्न स्थान हुँदै पुनः बिरौटास्थित कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्ति महाराजले मोटरसाइकल र्यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश फैलाएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो र्यालीले महायज्ञप्रतिको उत्साहलाई झन् बढाएको छ। पोखरेली जनताको आत्मीय सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ।”
र्यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरेका थिए। साथै, धार्मिक भजन र सन्देशमूलक नाराहरूले र्यालीको माहोललाई उत्साहपूर्ण बनाएको थियो। स्थानीय बासिन्दा र दर्शकहरूले सडकछेउमा उभिएर र्यालीमा हर्ष प्रकट गर्दै स्वागत गरेका थिए।
र्यालीको विशेष आकर्षण पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा होन्डा मोटरसाइकलका बिक्रेता चन्द्र कुँवरको सहभागिता रह्यो। कुँवरले सामाजिक एकता र धार्मिक उत्साह प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण भएको बताउँदै आयोजकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारप्रसारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। फाउण्डेशनका अनुसार, वैशाख १४ गते फेवातालमा डुङ्गा र्याली तथा वैशाख १६ गते बृहत् कशलयात्रा आयोजना हुनेछ। यसअघि वैशाख ११ गते साइकल र्याली र वैशाख १२ गते ट्याक्सी र्याली भव्यतापूर्वक सम्पन्न भइसकेका छन्।
र्यालीको सफलताले पोखरामा महायज्ञप्रति थप उत्साह र विश्वास जागृत गराएको छ। मानवसेवा फाउण्डेशनले आगामी दिनमा आयोजना हुने कार्यक्रमहरूमा सक्रिय सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सम्पूर्ण श्रद्धालु तथा नगरवासीलाई हार्दिक अपिल गरेको छ।