पोखरा । कोपिला नेपालको आयोजना र पत्रकार महासंघ कास्कीको समन्वयमा ‘पत्रकारका लागि डिजिटल साक्षरता’ विषयक तालिम शनिबार सम्पन्न भएको छ ।
द युरोपियन युनियन र इन्टरनेशनल एलर्टको सहयोग साथै नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम् नेटवर्कको प्राविधिक सहयोगमा बैशाख ११, १२ र १३ गते ३ दिनसम्म चलेको तालिममा पोखराका २० जना पत्रकारले भाग लिएका थिए ।
प्रशिक्षक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिजम्, फोटो जर्नालिजम्, भिडियो इडिटिङ, एआई पत्रकारिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए । उनले एआईको प्रयोगले पत्रकारितालाई अझ सहज, प्रभावकारी बनाउने बताउँदै पत्रकारहरू सबै विधामा सक्षम हुनुपर्ने भनाई राखेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमबाट सिकेको ज्ञानलाई प्रयोगमा आउने विश्वास व्यक्त गरे । उनले अहिले प्रविधिमा भइरहेको परिवर्तन सँगै विभिन्न चुनौतीहरुको सामना गर्दै पत्रकारिता गर्नुपर्ने अवस्था आएको भन्दै यस्ता तालिमले पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा इन्टरनेशनल एलर्टका प्रोग्राम अफिर प्रतिष्ठा थापाले संस्थाका बारे जानकारी दिंदै पत्रकारिता क्षेत्रलाई अझै सफल र अगाडी बढाउन यस तालिममा सहकार्य गरेको बताइन् ।
कोपिला नेपालका संयोजक तीर्थबहादुर थापाले संस्थाका गतिविधि बारे प्रकाश पार्दै तालिममा सहभागि सबैलाई धन्यवाद व्यक्त गरेका थिए । विशेष गरी कोपिला नेपालले बालबालिका, महिला सुरक्षा घर, मानसिक स्वास्थ्य र लैंगिक हिंसाको पक्षमा काम गर्दै आएको थापाले जानकारी दिए ।
उनले पछिल्लो समय महिला सुरक्षा, लैंगिक हिंसा र मानसिक स्वास्थ्य बारे समस्या बढ्दो अवस्थामा रहेको बताउँदै यसबारे सुसुचित गराउने खालको कलम चलाउनसमेत पत्रकारलाई आग्रह गरे । उनले भने, “पछिल्लो समय धेरै जसो लिभिङ रिलेशनका बारे समस्या देखिएका छन् । सँगै बस्छन्, छुट्छन्, पछि विभिन्न समस्याहरु लिएर आउनुहुन्छ, कतिपय अवस्थामा भिक्टिम को हो?, कसरी उद्धार गर्ने? भन्ने पनि अन्योल हुन्छ । यस बारे पत्रकारले कलम चलाइदिनुहोस् ।” पत्रकारले यस विषयमा अहिलेको अवस्था र समस्याको बारेमा सक्रिय रुपमा कलम चलाए भने मात्रै पनि यस्ता घटना कम हुने उनले बताए।
कोपिला नेपालका संथापक महासचिव प्रकाशराज वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संयोजक थापाले गरेका थिए ।
तालिममा सहभागि प्रशिक्षार्थीहरुले तालिम उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।