नक्कली पत्रका कारण रेशम चौधरी पक्राउ, केही घण्टामै सर्वोच्चकै आदेशमा थुनामुक्त

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सर्वोच्च अदालतको नाममा जारी नक्कली पत्रका कारण नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी आज अप्रत्याशित रूपमा पक्राउ परे। तर, सोही पत्र नक्कली ठहरिएपछि उनलाई केही घण्टामै थुनामुक्त गरिएको छ।

डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालका अनुसार कानुनी प्रक्रिया पुरा गर्दै चौधरीलाई रिहा गरिएको हो। उनले भने, “सर्वोच्चको आधिकारिक निर्णय अनुसार चौधरीलाई कारागारबाट मुक्त गरिएको छ।”

यसअघि सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाको च.नं. १९२७७ मिति २०८२ वैशाख १७ मा जारी भएको पत्रमा चौधरीलाई थुनामा राख्न निर्देशन दिइएको थियो। तर, उक्त पत्र सर्वोच्चको आधिकारिक नठहरिएपछि पुनः अर्को पत्रमार्फत चौधरीलाई तत्काल रिहा गर्न निर्देशन दिइयो। उक्त पत्रमा भनिएको छ, “उक्त पत्र यस अदालतको आधिकारिक नभएको हुँदा कार्यान्वयन नगरी रेशमलाल चौधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुरोध छ।”

यस प्रकरणमा नक्कली पत्र तयार पारेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतकै सुरक्षा इकाइले नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा जिम्मा लगाइएको छ। प्रारम्भिक बयानमा विष्टले “टिकापुर हत्याकाण्ड सम्झेर पत्र तयार पारेको” दाबी गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्