
पोखरा । जैविक विविधता संरक्षणको दिशामा एक महत्वपूर्ण प्रयासस्वरूप माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वन क्षेत्रमा डाँफे, मुनाल लगायतका कालिज प्रजातिहरूको औपचारिक गणना सम्पन्न भएको छ। जैविक विविधता संरक्षण समाज नेपाल (BIOCOS Nepal) र वल्ड फेजेन्ट असोसिएसन (World Pheasant Association) को संयुक्त आयोजनामा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) को सहकार्यमा वैशाख ४ देखि १८ गतेसम्म गणना गरिएको हो।
पिलिचो, पिपर, खुमई, कोर्चा, लुबुरचु, चिचिम्ले, डाँफे चौर, हिले र ओदानेजस्ता क्षेत्रहरूमा गरिएको गणनामा डाँफे १४६, मुनाल १४८, प्यूरा १७० र फोक्रास १९ वटा फेला परेका छन्। साथै सो क्षेत्रमा अहिलेसम्म २०० प्रजातिका चराहरू रेकर्ड भएका छन् भने सन् १९७९ यता ३१४ प्रजातिका चराहरूको अस्तित्व देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र ५१८ प्रजातिका चराहरूको बासस्थानका रूपमा चिनिन्छ र Important Bird Area (IBA) को रूपमा मानिन्छ।
पिपर क्षेत्र चरा अवलोकन र संरक्षणका लागि विश्वमै प्रख्यात छ, BIOCOS नेपालका अध्यक्ष लक्ष्मण पौड्यालले बताए। “यो गणनाले हामीलाई संरक्षण र पर्यटन प्रवर्द्धनमा नयाँ दिशा प्रदान गरेको छ,” उनले भने । ‘यो गणना हाम्रो संरक्षण अभियानको महत्वपूर्ण कडी हो । स्थानीय समुदाय, सरकार र साझेदार संस्थाहरूको सहकार्यले पिपरलाई डाँफे–मुनालको अद्वितीय गन्तव्य बनाउन सकिन्छ ।’
विश्वप्रसिद्ध ‘पिपर सेञ्चुरी’ भनेर परिचित यो क्षेत्र चरा अवलोकन र अनुसन्धानको लागि केन्द्रबिन्दु बन्दै गएको छ। BIOCOS Nepal का निर्देशक तथा संरक्षण इकोलोजिस्ट डा. पारस विक्रम सिंहले भने, ‘पिपर क्षेत्र अन्तरराष्ट्रिय रूपमा चिनिएको छ। साना-ठूला प्रयास एकजुट भएमा यो क्षेत्र डाँफे, मुनाल र अन्य चराहरूका लागि अद्वितीय गन्तव्य बन्नेछ।’
नेपाल पंक्षीविद् संघ (NOU) का अध्यक्ष हथन चौधरीले यो गणनालाई जैविक विविधताको क्षेत्रमा कोसेढुंगा भएको बताए। ‘३१४ प्रजातिका चराहरूको पुष्टिले पिपर क्षेत्रको महत्व विश्वसामु उजागर भएको छ’, उनले भने।
पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले पिपर सेञ्चुरीको पर्यटकीय सम्भावनामाथि जोड दिए। यो क्षेत्र चरा अवलोकनका लागि विश्वस्तरीय गन्तव्य बन्न सक्ने उनकाे विश्वास छ ।
बर्डलाइफ इन्टरनेशनलका डा. हम गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रको विविधताको प्रशंसा गरे। उनले ५१८ प्रजातिका चराहरूको बासस्थान रहेको यो क्षेत्र संरक्षणका लागि प्राथमिकतामा पर्नुपर्नेमा जाेड दिए ।
ACAP का प्रमुख डा. रबिन काडेरियाले प्रविधिको प्रयोगले संरक्षणमा सहयोग पुगेको बताए। SMART प्रणाली र ट्रेल क्यामेराले चोरी–शिकार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको उनकाे विश्वास छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बी. गुरुङले स्थानीय सरकारको प्रतिबद्धता दोहोर्याए। ‘पिपर क्षेत्रलाई जैविक विविधताको खजानाका रूपमा जोगाउन हामी कटिबद्ध छौं’, उनले भने।
ग्रेट माछापुच्छ्रे ट्रेलका संयोजक इन्द्र गुरुङले पर्यटन र संरक्षणको सन्तुलनमा जोड दिए। उनले यो गणनाले पिपरको प्राकृतिक सम्पदालाई विश्वमाझ चिनाउन सहयोग पुर्याउने बताए।
वन्यजन्तु संरक्षणमा चोरी–शिकार र अवैध व्यापार मुख्य चुनौती भए पनि BIOCOS Nepal र ACAP ले SMART (Spatial Monitoring and Reporting Tool) प्रणालीमार्फत मोबाइल आधारित गस्ती सुरु गरेका छन्। ट्रेल क्यामेराको प्रयोगद्वारा चोरी नियन्त्रणमा राख्न लागिएको छ। स्थानीय सरकार, माछापुच्छ्रे गाउँपालिका र ग्रेट माछापुच्छ्रे ट्रेल समितिले संरक्षणमा सहकार्य गरिरहेका छन्।
गणनामा नेपाल पंक्षीविद् संघ (NOU) ले प्राविधिक सहयोग गरेको थियो। १९ जना अनुसन्धानकर्ता तथा सहयोगीहरूले दुई समूहमा काम गरेका थिए। कार्यक्रमको औपचारिक सत्र प्रवक्ता पेमाडोल्मा शेर्पाले सञ्चालन गरिन् भने BIOCOS नेपालका पवन राईले स्वागत मन्तव्य दिए। डा. पारस बी. सिंहले गणनाको प्रतिवेदन तथा भिडियोमार्फत प्रस्तुति दिएका थिए।
BIOCOS Nepal र अन्य साझेदार संस्थाहरूले संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउँदै आएका छन्। SMART प्रणालीबाट वनगस्ती, निरन्तर जागरूकता कार्यक्रम, अनुसन्धान तथा चरा अवलोकन पर्यटनलाई प्राथमिकतामा राखिएको छ। विश्वविद्यालयका विद्यार्थी, स्वयंसेवक र शिक्षकलाई समेत समावेश गर्दै स्थानीय पर्यटनमा योगदान दिइँदैछ।
BIOCOS Nepal जैविक विविधता संरक्षण, शिक्षा र अनुसन्धानमा कार्यरत गैरनाफामूलक संस्था हो भने वल्ड फेजेन्ट असोसिएसन (WPA) सन् १९७५ देखि कालिज प्रजातिको संरक्षणमा संलग्न छ। थप जानकारीका लागि www.biocosnepal.org.np र www.pheasant.org.uk अवलोकन गर्न सकिन्छ।
गणना समापनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा संरक्षणका लागि सबैको सहभागिता अनिवार्य रहेकोमा जोड दिइएको थियो। स्थानीय नियमावली निर्माण, तीतर अनुगमन तथा पारिस्थितिक पर्यटनको विकासमा लाग्न सबैलाई आह्वान गरियो।