बडा दशैंकाे साताैं दिन आज फूलपाती, शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपालीहरूको महान् चाड बडा दशैं आज अर्को विशेष चरणमा प्रवेश गरेको छ। दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतमा फूलपाती भित्र्याएर उल्लासपूर्वक मनाइँदैछ।

शास्त्रीय मान्यताअनुसार दशैंको पहिलो दिनदेखि सप्तमी, अष्टमी, नवमी र दशमी तिथिको आफ्नै विशेष महत्व छ। तीमध्ये फूलपाती सप्तमीलाई शुभता, समृद्धि र देवीको आशीर्वादको प्रतीकका रूपमा मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले दशैंका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने परम्पराले यो पर्वलाई अझै विशेष बनाएको बताए ।

फूलपाती स्वरूपमा केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नौ पातलाई पूजा गरी दुर्गा थापिएको स्थानमा भित्र्याउने गरिन्छ। यी नौ पात क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीको प्रतीक मानिन्छन्। यसै दिन विद्यार्थीहरूले महासरस्वतीको पूजा गर्दै पुस्तक, कापी, कलम, मसीदानी आदिलाई पनि पूज्ने परम्परा रहेको छ।

यस दिन किसानहरू खेतमै गएर धानको बाला पूजा गर्ने चलन अझै कायम छ। उनीहरू चन्दन, अक्षता र फूल अर्पण गरेर धानबालीको आशीर्वाद घरमा भित्र्याउँछन्। राजधानीको हनुमानढोका दरबारमा त गोरखाबाट विशेष रूपमा ल्याइने फूलपाती भित्र्याउने परम्परा शताब्दीयौँदेखि निरन्तर चलिआएको छ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी राखिएको जमरा पनि यही दिनदेखि अझै आकर्षक हुँदै जान्छ। फूलपातीसँगै दशैंको माहोल घर–घरमा थप चहलपहलपूर्ण बन्न थालेको छ।

आजदेखि सरकारी कार्यालयहरू समेत बन्द हुने भएकाले विभिन्न पेशा–व्यवसायमा संलग्न मानिसहरू आ–आफ्नो मूलघर फर्किन थालेका छन्। दुर्गा भवानीको प्रसादस्वरूप टिका थाप्ने उमङ्गसहित सपरिवार घर फर्किने यात्रुहरूको चहलपहल आज अझै बढेको देखिन्छ।

यस वर्षको फूलपातीका लागि तुलजा भवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा र स्थिरासन पूजा बिहान ९ बजेर २३ मिनेटमा शुभ साइत तोकिएको समितिले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्