
लेखनाथ ।
लेखनाथ–१९ स्थित तेस्रो नवदुर्गा पूजा समारोह २०८२ जारी छ। मधेस कास्की सम्पर्क समाजको आयोजनामा घटस्थापनादेखि सुरू भएको यो महोत्सव विजयादशमीसम्म चल्नेछ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्नुका साथै सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश प्रवाह गरिएको छ।
समारोहका प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जमुना पराजुलीले मधेसी समुदायका कर्मशील हातहरूले गर्ने हरेक पेसा र श्रमलाई सानो–ठूलो भनेर नहेरी सम्मान गर्ने गरेकाेमा खुसि व्यक्त गरिन् । उनले भनिन् “कर्मलाई तुलना गर्नु हुँदैन, सम्मान गर्नुपर्छ। मधेसी समुदायको श्रमशीलता, आत्मनिर्भरता र परिश्रमबाट हामी सबैले सिक्नुपर्नेछ।”
मधेस कास्की सम्पर्क समाजका अध्यक्ष सतेन्द्रकुमार दासले मधेसी समुदायका नेपालीहरूले आस्थापूर्वक दुर्गा माताको पूजा गर्दै आएको परम्परा, कला र संस्कृतिको संरक्षणमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले बचत रकम पीडित समुदायलाई सहयोग गर्ने र एम्बुलेन्स खरिद अभियान सञ्चालन गर्ने योजनाबारे जानकारी गराए।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकालले समाजमा विद्यमान विभेद र विध्वंसकारी प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए भने नेपाल फार्मेसी महासंघका महासचिव सुवर्णराज पन्तले बालबालिकालाई संस्कृतिसँग जोड्ने कार्य निरन्तर गर्नुपर्ने विचार राखे।
यस अवसरमा नर्वेदेश्वर मोक्षधाम आश्रमका महासचिव माधव भण्डारी ले नवदुर्गा आराधना मार्फत सबैमा सत्बुद्धि प्राप्त होस् भन्ने शुभकामना दिए। तराई सेवा समाजका सचिव विकास ठाकुर ले संस्कृतिको जर्गेना सबैको जिम्मेवारी भएको बताए।
अधिवक्ता महेन्द्रमान श्रेष्ठले आधुनिक विदेशी संस्कृतिको दबाबबीच सनातन धर्म र संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। समाजसेवी मौजलाल यादव ले पूजासम्बन्धी आस्था र विश्वासलाई जीवनशैलीसँग जोडिएको बताए।
त्यसैगरी, विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र सिंह ले धर्मले समाजलाई जोड्ने शक्ति रहेको उल्लेख गर्दै एकता र सद्भावका लागि सबैलाई आव्हान गरे।
शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। ममता जैसवाल (एईई, फोर जीपिए) र शिवानी चौधरी (सिभिल इन्जिनियरिङ, ३.९१ जीपिए) सहितका विद्यार्थीलाई सम्मानपत्र र पुरस्कार प्रदान गरियो। त्यस्तै, ‘मधेसी अवार्ड’ सागर कुसवाह र लिलाधर पटेल लाई प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन लिलाधर पटेल (विश्वनाथ) ले गरेका थिए भने उपाध्यक्ष विवेक जैसवाल ले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।