पाेखरा । नदिपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम विधिपूर्वक सम्पन्न भएको छ। धार्मिक विधिअनुसार गुरुहरुले मन्त्राेच्चारण गरि सरस्वती पूजा तथा अक्षरारम्भ गरिएकाे कार्यक्रममा महाआरती समेत गरिएकाे थियाे ।

कार्यक्रममा स–साना बालबालिकालाई पहिलोपटक अक्षरसँग परिचित गराउँदै औपचारिक रूपमा ज्ञानयात्राको विधिवत सुरुवात गराइएको हो । विद्यालयका शिक्षिकाहरूले अङ्ग्रेजी र नेपाली अक्षर लेखी बालबालिकालाई सिकाएका थिए भने अभिभावकहरूले पनि अक्षर लेख्न सहयोग गरेका थिए।
विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले सरस्वती पूजाको दिन गरिने अक्षरारम्भ शैक्षिक संस्कारको महत्वपूर्ण अभ्यास भएको बताए। उनले भने,
‘यस दिन अक्षरारम्भ गराउँदा बालबालिकामा सिकाइप्रतिको रुचि, आत्मविश्वास र संस्कारको विकास हुन्छ। यो ज्ञानयात्राको सुन्दर सुरुवात हो।’
मन्टेश्वरी काेअर्डिनेटर निर्मला सुवेदीले वसन्त पञ्चमी ज्ञान, सिर्जना र नयाँ सुरुवातको प्रतीक भएकाले यस दिन अक्षरारम्भ गराउनु अत्यन्त शुभ मानिने बताईन् ।
सरस्वती पूजाको दिन गरिने अक्षरारम्भले बालबालिकाको शैक्षिक जीवन सफल र उज्यालो हुने विश्वास रहिआएको छ।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो भने अध्ययन सामग्री, कलम, कापी तथा वाद्ययन्त्रको पूजा समेत गरिएको थियो भने विद्यार्थीहरुले सररस्वती वन्दना,नृत्य र भजन समेत प्रस्तुत गरेका थिए ।
‘अक्षरबाट सुरु भएको यात्रा, जीवनभरको उज्यालो’ भन्ने सन्देशका साथ विद्यालयले हरेक वर्ष यो कार्यक्रम निरन्तर गर्दै आएको जनाएको छ।










