विराटनगर । धरानमा पार्किङ गरेर राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको छ। घटना धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्ग का अनुसार आगलागी हुँदा तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने तीनवटा बसमा आंशिक क्षति पुगेको छ।
पूर्ण रूपमा जलेर नष्ट हुने बसहरूमा को १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, र बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस रहेका छन्। त्यस्तै को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा ५ ख ५८१४, र बा ५ ख ५८०९ नम्बरका बसहरूमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट आगलागी बसभित्रको विद्युत् तार सर्ट भएर भएको हुन सक्ने देखिएको छ। सीसीटीभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि नदेखिएको डीएसपी खड्काले जानकारी दिए।
उनका अनुसार आगो सुरुमा को १ ख ६२७४ नम्बरको बसबाट लागेको देखिएको छ। विराटनगर–धरान रुटमा चल्ने उक्त बसमा करिब एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगलागी भएको थियो। बस मंगलबार राति करिब ९ बजेतिर ग्यारेजमा पार्किङ गरिएको थियो भने साढे ९ बजेतिरबाट आगलागी सुरु भएको अनुमान गरिएको छ।
प्रहरीलाई घटनाबारे जानकारी भने करिब राति १० बजे मात्रै पुगेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









