काठमाडौं, २६ फागुन। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। पछिल्लो कारोबारमा ब्रेन्ट क्रुड तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलरमा झरेको छ।
त्यसैगरी अमेरिकामा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) तेलको मूल्य पनि झण्डै ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
मध्यपूर्व क्षेत्रमा देखिएको तनाव कम हुने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत दिएका थिए। उनले यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत कुराकानी गरेको जानकारी सार्वजनिक भएको थियो।
तर केही समयपछि युद्ध तत्काल अन्त्य नहुने सम्भावना रहेको भनाइ पनि बाहिर आएपछि बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ। यद्यपि प्रारम्भिक रूपमा युद्ध अन्त्यतर्फ जाने संकेतका कारण तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।









