पोखरा ।
प्रतिभा माध्यमिक विद्यालयमा आयोजित दीक्षान्त समारोहमा युकेजीका ७३ जना बालबालिका दीक्षित भएका छन्। ‘शिक्षाको उत्सव’ नारासहित सम्पन्न कार्यक्रममा युकेजी सन, मून र स्टार समूहका बालबालिकालाई समूहगत प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सानैदेखि राम्रो बानी, अनुशासन र आत्मविश्वास विकास गराउनुपर्नेमा जोड दिए । उनले बालबालिका ‘काँचो माटो’ जस्तै हुने भएकाले उनीहरूलाई सही दिशा दिन विद्यालय र अभिभावक दुवैको समान जिम्मेवारी रहेको बताए । साथै, विद्यालयमा सिकाइने ज्ञानसँगै घरपरिवारबाट पनि बालबालिकामा राम्रो संस्कार विकास हुने भएकाले अभिभावकले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा भिडियो सन्देशमार्फत विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले दीक्षित सबै बालबालिकालाई बधाई व्यक्त गरेका थिए ।

विद्यालयका फाइनान्स डिरेक्टर विश्वगोपाल पराजुलीले बालबालिकाको शिक्षा नै समाजको भविष्य निर्माणको आधार भएको बताउँदै आधुनिक प्रविधि र रचनात्मक सीपसँग जोडिनुपर्ने आवश्यकता औँल्याए।
सहप्राचार्य प्रदीप खनालले विद्यालयले गुणात्मक शिक्षा, संस्कारयुक्त सिकाइ र अतिरिक्त क्रियाकलापमा जोड दिएकाे बताए । ‘विद्यालयको उद्देश्य विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र होइन, जीवनोपयोगी सीप र संस्कार पनि सिकाउनु रहेको छ ।’ उनले भने-‘दीक्षान्त समारोह बालबालिकाको शैक्षिक यात्राको पहिलो खुड्किलो हाे ।’
कार्यक्रममा स्वागत गर्दै विद्यालयकी मन्टेश्वरी कोअर्डिनेटर निर्मला सुवेदीले बालबालिकाको परिश्रम, उपलब्धि र आत्मविश्वास प्रस्तुत गर्ने महत्वपूर्ण दिनका रूपमा दीक्षान्त समारोहलाई व्याख्या गरिन् । सिकाइका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनकाे जोड छ ।
कार्यक्रममा मन्टेश्वरीमा अध्यापनरत शिक्षिकाहरूलाई बालविकास र बालमनोविज्ञानमा योगदान पुर्याएको भन्दै विभिन्न विधामा सम्मान गरिएको थियो ।

बालबालिकाको प्रतिभा र आत्मविश्वास झल्काउने विविध प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बने । समारोहमा कक्षा ४ का विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कक्षा १ का बालबालिकाले एकाङ्की नाटक प्रस्तुत गरी सबैको मन जितेका थिए ।
साथै, युकेजीका बालबालिकाहरूले नृत्य, भूमिका अभिनय तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति राखे । जसलाई उपस्थित अभिभावकहरूले निकै रुचिपूर्वक अवलोकन गरेका थिए ।
दीक्षान्त समारोहले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै बालबालिकाको शैक्षिक यात्राको सुरुवातमा नयाँ उत्साह थपेको छ ।
पोखरा–३, नदीपुरस्थित विद्यालयमा भएकाे कार्यक्रममा विद्यालयका म्यानेजिङ डिरेक्टर सन्देश पौडेल, एडमिनिस्ट्रेटिभ सहप्राचार्य बुद्धिमोहन पौडेल तथा युकेजीमा अध्ययनरत बालबालिकाका अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने शिक्षिका शैली ताम्राकारले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।









