घरमै बसेर कर तिर्न सिकौं–प्रमुख कर अधिकृत ढुंगाना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखनाथ ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले व्यवसायीहरूले अब घरमै बसेर कर तिर्न सिक्नुपर्ने बताएका छन्।

शनिबार लेखनाथमा भएको अधिकृत बिक्रेता संघको दोस्रो साधारण सभाको उद्घाटन गर्दै प्रमुख कर अधिकृत ढुंगानाले अबको युग डिजिटल युग भएकाले प्रविधिको प्रयोगबाट समयको बचत गर्दै घरमै बसेर कर तिर्न सकिने बताए। उनले त्यस सम्बन्धी ज्ञान लिन व्यवसायीहरूलाई आग्रह गरे।

उनले फुर्सदको समय सामाजिक सञ्जालमा व्यर्थ बिताउनुको सट्टा अनलाइन प्रणालीमार्फत कारोबार विवरण प्रविष्ट गर्नेदेखि करचुक्ता प्रमाणपत्र लिने सम्मका प्रक्रियाबारे ज्ञान हासिल गर्न सके व्यवसायीहरूलाई नै फाइदा पुग्ने र उच्च जरिवानाबाट बच्न सकिने उल्लेख गरे।

ढुंगानाले कर तिर्नु प्रत्येक नागरिक तथा व्यवसायीको दायित्व भएको बताउँदै करलाई बोझ र झन्झटका रूपमा लिन नहुने स्पष्ट पारे। राज्यका विभिन्न निकायहरूले साना–साना कारोबारमाथि समेत कडा निगरानी गरिरहेको उल्लेख गर्दै कर छली अब सम्भव नहुने बताए। साथै, इमानदार व्यवसायीहरूलाई पर्ने समस्या समाधानमा कार्यालय सधैँ सहयोग गर्न तयार रहेको पनि उनले बताए।

सो अवसरमा नेपाल वितरक महासंघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुंगानाले तीन तहका सरकारका विभिन्न निकायमा तिर्नुपर्ने करका कारण व्यवसायीहरूले झन्झट र सास्ती भोग्नुपरेको भन्दै एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिए। उनले बजारमा जनशक्तिको अभावले पनि समस्या भइरहेको बताए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू बलराम ढकाल र सुमन ढुंगाना, वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड लेखनाथ शाखा प्रमुख अमृत गोदार, लेखनाथ मार्केटिङ ग्रुप एशोसिएसनका अध्यक्ष उमेश अधिकारी, तथा नेपाल वितरक महासंघ कास्कीका अध्यक्ष राजाराम शर्मा लगायतले आफ्ना धारणा राखेका थिए।

संस्थाका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन शोभामोहन सुवेदीले प्रस्तुत गरेका थिए। सचिवको प्रतिवेदन तथा कार्यक्रम सञ्चालन महासचिव सन्तोष बरालले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष नवराज सुवेदीले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्