गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन सिफारिस

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।

सिफारिसअनुसार गुरुङले आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। यसअघि उनी चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए।

गुरुङको कार्यकालका क्रममा उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो। पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्दै गुरुङलाई पुनः गृहमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

त्यसैगरी, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सिफारिस गरेका छन्। पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्