आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपालीहरूको धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा आज देशभर विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइँदैछ।

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा वैदिक सनातन धर्मावलम्बीहरूले बिहानै नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको रक्षासूत्र (डोरो) बाँध्ने तथा नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने परम्परा छ।

जनैपूर्णिमालाई ऋषितर्पणीसमेत भनिन्छ। यस दिन सप्तऋषिको पूजा तथा तर्पण गर्ने धार्मिक परम्परा रहेको छ। तागाधारी समुदायले विधिपूर्वक नयाँ जनै धारण गर्ने भएकाले यो दिनलाई जनैपूर्णिमाका रूपमा विशेष महत्वका साथ मनाउने गरिन्छ।

रक्षाबन्धनका अवसरमा गुरु–पुरोहितले मन्त्र उच्चारण गर्दै हातमा रक्षासूत्र बाँधिदिने चलन छ। धार्मिक मान्यताअनुसार रक्षासूत्रले सुरक्षा, शुभ तथा कल्याणको प्रतीकका रूपमा काम गर्ने विश्वास गरिन्छ।

नेपालका विभिन्न समुदायमा भने यो पर्व फरक–फरक परम्पराका साथ मनाइन्छ। तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु, सुख–समृद्धि र स्वास्थ्यको कामना गर्ने चलन छ। पछिल्लो समय यो परम्परा पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

त्यस्तै, नेवार समुदायमा जनैपूर्णिमालाई ‘गुन्हु पुन्ही’का रूपमा मनाउने तथा यस दिन विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको पौष्टिक परिकार ‘क्वाँटी’ खाने प्रचलन छ। क्वाँटीलाई वर्षायाममा शरीरलाई पोषण र ऊर्जा दिने परिकारका रूपमा समेत लिइन्छ।

रक्षाबन्धन तथा जनैपूर्णिमाले धार्मिक आस्थासँगै परिवार, दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, आत्मीयता, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्