युवा नेता गोविन्द नेपाली प्रदेश प्रतिनिधिमा निर्विरोध

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन्।

विद्यार्थी तथा दलित आन्दोलनबाट राजनीतिमा उदाएका नेपाली नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्यसमेत हुन्। विद्यालय उमेरदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिमा सक्रिय नेपालीले निर्वाचित हुँदै कांग्रेसले यसपटक युवालाई अवसर दिएकोमा खुसी व्यक्त गरेका छन्।

विगतमा पार्टीले युवालाई नेतृत्वमा आउने पर्याप्त वातावरण नबनाएको भए पनि अहिले त्यसमा परिवर्तन हुँदै कांग्रेसलाई युवाको पार्टी बनाउने दिशामा अघि बढ्नुले नयाँ ऊर्जा थपिएको उनले बताए।

‘हिजो हामी विद्यार्थी आन्दोलनमा होमिँदै गर्दा पार्टीको प्रतिनिधिदेखि नेतृत्व तहसम्म पुग्न निकै कठिन थियो। अझ हामी समावेशी प्रक्रियाबाट अगाडि बढ्नका लागि त झन् गाह्रो थियो,’ उनले भने, ‘अब कांग्रेस बदलिएको छ। समयसँगै सबै कुरा बदलिनुपर्छ। हिजो देशका लागि कांग्रेसले थुप्रै योगदान दियो, अब देश बनाउने हो।’

नेपाली स्वर्गीय दलित अगुवा तथा नेता भवेस सार्कीका जेठा छोरा हुन्। बुबाको हात समाउँदै राजनीतिमा प्रवेश गरेका नेपालीको राजनीतिक यात्रा अहिले थप सक्रिय बन्दै गएको छ।

बुबाले आफूलाई बीपी कोइरालाको अनुयायी बन्न प्रेरित गरेको र इमानदार भएर राजनीति गर्न सिकाएको उल्लेख गर्दै उनले पार्टीमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए।

बदलिँदो समाजअनुसार विकासका नयाँ खाका कोर्न आफूजस्ता हजारौँ युवा पार्टीको नेतृत्व पंक्तिमा पुग्नुपर्ने बताउँदै उनले कांग्रेसले बल्ल युवाको भावना बुझ्न थालेको बताए।

प्रदेश प्रतिनिधिका उम्मेदवारसमेत रहेका नेपालीले गगन थापाले पार्टीभित्र परिवर्तनका लागि जुन आँटसहित विद्रोह गरे, त्यसमा सबैले साथ दिनु आजको आवश्यकता भएको बताए।

‘हिजो कांग्रेसमाथि एउटा आरोप थियो—पुरानालाई मात्रै अवसर दिने, युवालाई भविष्यका कर्णधार भनेर पन्छ्याउने। तर आज समय फेरिएको छ। युवा भविष्यका कर्णधार होइनन्, वर्तमानका सहयात्री हुन्,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्