बरपिपल बहुउद्देश्यीय सहकारीको अध्यक्षमा लिलबहादुर घर्ती सर्वसम्मत

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

‎पोखरा । बरपिपल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–१७ को अध्यक्षमा लिलबहादुर घर्ती सर्वसम्मत चयन भएका छन्। संस्थाको शनिबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले घर्तीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा पूर्णबहादुर भुजेल, सचिवमा कर्णबहादुर भुजेल, कोषाध्यक्षमा सुरजप्रकाश भुजेल तथा सदस्यहरूमा विष्णुकुमारी थापा, ढकमाया भुजेल, समुद्र घर्ती, प्रेमबहादुर भुजेल र सागर भुजेल चयन भएका छन्। यस्तै लेखा समितिको संयोजकमा पदमबहादुर घर्ती तथा सदस्यहरूमा केशबहादुर भुजेल र अञ्जु भुजेल घर्ती चयन भएका छन्।

अधिवेशन सम्पन्न गर्न अधिवक्ता रुद्र कुँवरको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिको सदस्यमा गंगा केसी र भक्तबहादुर घर्ती रहेका थिए।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ की वडा सदस्य तथा संस्थाकी सल्लाहकार विष्णुकुमारी थापाले सहकारीको दिगो विकासका लागि सेयर सदस्यहरूको सक्रियता, नियमित बचत र पारदर्शिता आवश्यक रहेकोमा जोड दिइन्। उनले सहकारी सबैलाई समेट्ने साझा संस्थाका रूपमा विकास गर्नुपर्ने बताइन्।

‎कोषाध्यक्ष सुरजप्रकाश भुजेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार संस्थाको सेयर पुँजी एक करोड रुपैयाँ पुगेको छ। मासिक बचत ६२ लाख ८ सय ६१ रुपैयाँ, दैनिक बचत ४९ लाख ८२ हजार १ सय ३० रुपैयाँ, आवधिक बचत तीन लाख रुपैयाँभन्दा बढी र ऋण लगानी एक करोड २८ लाख रुपैयाँभन्दा बढी रहेको छ। गत आर्थिक वर्षसम्म घाटामा रहेको संस्था चालु आर्थिक वर्षमा थोरै मुनाफामा प्रवेश गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ।

‎संस्थाका अध्यक्ष विलबहादुर भुजेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको भावी योजना तथा कार्यक्रमबारे जानकारी गराए। उनका अनुसार संस्थामा हाल २५६ जना सेयर सदस्य आबद्ध छन्। आगामी आर्थिक वर्षमा सहकारी शिक्षा तालिम, अध्ययन तथा अवलोकन भ्रमण, उत्पादनमूलक व्यवसायमा सहुलियत ऋण, सदस्य स्वास्थ्य कोष स्थापना तथा असल बचतकर्ता र कारोबारीलाई सम्मान गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ। दुई जनाको धनजमानीमा तीन लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने नीतिलाई समेत निरन्तरता दिइने उनले बताए।

‎कार्यक्रममा सल्लाहकार तथा समाजसेवी सूर्यबहादुर भुजेलले सहकारी सञ्चालनमा सामूहिक प्रयास, आर्थिक अनुशासन र सक्षम व्यवस्थापन महत्त्वपूर्ण हुने बताए।

‎साधारणसभाको अवसरमा कक्षा १२ उत्तीर्ण गरेका सेयर सदस्यका छ जना छाेराछाेरीलाई सम्मान गरिएको थियो। साथै असल बचतकर्ता, असल कारोबारी र संस्थाका कर्मचारीलाई समेत सम्मान गरिएको थियो।

सेयर सदस्यकाे तर्फबाट चन्द्रबहादुर भुजेलले शुभकामना मन्तव्य राखेकाे कार्यक्रमकाे स्वागत उपाध्यक्ष प्रेमबहादुर भुजेल र सञ्चालन सचिव लिलबहादुर घर्तीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्