युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । युनाइटेड क्लब पोखराले विपद् व्यवस्थापन कोषलाई सुदृढ बनाउने उद्देश्यले आगामी कार्तिक २३ गते देउसीभैलो कार्यक्रम आयोजना गर्ने भएको छ । तिहारको अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रमअघि नै एक लाख रुपैयाँ सहयोग संकलन भइसकेको क्लबले जनाएको छ ।

देउसीभैलो कार्यक्रमबाट संकलित रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरिने कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष सूर्यबहादुर बानियाँले जानकारी दिए । उनले कार्यक्रमलाई सफल बनाउन तथा विपद् व्यवस्थापन कोषमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेका छन् ।
यसै अवसरमा क्लबले नेपालीहरूका प्रमुख चाडपर्व विजया दशमी, दीपावली, छठ तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजेश गुरुङले विपद्का समयमा युनाइटेड क्लबले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे । विगतमा वडा कार्यालयमा क्षति पुग्दा क्लबले कम्प्युटर सहयोग गरी कार्यालयको नियमित कामकाज सञ्चालनमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै उनले क्लबका गतिविधिलाई निरन्तरता दिन वडा कार्यालयबाट यस वर्ष एक लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले युनाइटेड क्लबले समाजका हरेक वर्गलाई समेट्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए । अमरसिंह माध्यमिक विद्यालय र युनाइटेड क्लबबीच नङ र मासुको जस्तै प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका पूर्वअध्यक्ष सुकबहादुर गुरुङले देउसीभैलो कार्यक्रमबाट संकलित रकम विपद् व्यवस्थापन कोषमा सहयोग गरिने उद्देश्य रहेको उल्लेख गर्दै सबैलाई खुलेर सहयोग गर्न अपिल गरे ।

क्लबका आजीवन सदस्य बलराम ढुंगानाले युनाइटेड क्लब पोखरामा स्थापित र परिचित सामाजिक संस्था भएको बताउँदै क्लबका गतिविधि पारदर्शी रूपमा सञ्चालन हुँदै आएको उल्लेख गरे । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्द्धनमा क्लबले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।

क्लबका अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन, सेती नदी संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा क्लबले निरन्तर काम गर्दै आएको बताए । देउसीभैलो कार्यक्रममार्फत विपद् व्यवस्थापन कोषलाई थप सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले सबैको साथ र सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा क्लबका आजीवन सदस्य चोलेन्द्र पौडेल गण्डकी प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा मनोनित भएको तथा क्लबका शुभेच्छुक नवराज घिमिरे अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित भएकोमा दुवैलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

क्लबका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शान्तबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्