
सुरज श्रेष्ठ,पोखरा । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको २५ औं वार्षिक उत्सवको अवसरमा नवलपुर जिल्लालाई वर्ष उत्कृष्ट जिल्ला घोषित गरेको छ । उत्कृष्ट जिल्ला घोषित भएको नवपुरलाई उक्त कार्यक्रममा सम्मानित गरेको छ ।
महासंघले आइतबार पोखरा रंगशालामा एक कार्यक्रम गर्दै उत्कृष्ट कार्य गरेको भन्दै नवलपुरलाई नगद १० हजारसहित सम्मान गरेको हो ।
महासंघले वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, सर्वाेकृष्ट प्रशिक्षक, संस्थापक अध्यक्ष र महासंघलाई योगदान दिने एकजनालाई पनि सम्मान गरेको छ ।
वर्ष उत्कृष्ट पुरुष खेलाडीमा गण्डकी प्रदेशका दिनेश बुढामगर, वर्ष उत्कृष्ट महिला खेलाडीमा बागमती प्रदेशकी रुविका खड्का, उत्कृष्ट प्रशिक्षकमा प्रदेश १ का राजेन्द्र धिमाल सम्मानित भएका हुन ।
सर्वाेकृष्ट प्रशिक्षकमा बागमती प्रदेशका गोपाल श्रेष्ठ, महासंघलाई महत्वपुर्ण योगदान गरेकोमा खाडादेवी गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादर तामाङ र संस्थापक अध्यक्ष खड्कबहादर रानाभाटलाई पनि सम्मान गरिएको छ । सम्मानित सबैलाई सम्मानपत्रसहित नगद १०/१० हजार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिफ तेक्वन्दो प्रतियोगितामा खेलाडीले धेरै भन्दा धेरै गोल्ड मेडल ल्याउन सफल होस भन्दै सफलताको शुभकामना दिनु भएको छ । आईटिएफ तेक्वन्दो अन्तराष्ट्रिय स्तरमा राम्रो सम्भावना भएको खेल भएकोले खेलाडीहरुलाई यो खेलमा तनमन लगाएर लाग्न समेत आग्रह गरेका थिए ।

सो कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
२५ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त संघ २०६३ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको थियो ।