पाेखरा । पाेखरा वडा नम्वर २५ बाट पाेखरा महानगरमै पहिलाे पटक भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरुका लागि निस्सा वितरण कार्यक्रम शुरु भएकाे छ ।

मंगलवार एक कार्यक्रमकाविच पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा २ सय ४२ भुमिहीन परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरेकाे हाे । जसअन्तर्गत
भुमिहीन दलित १ सय ५ र भुमिहीन सुकुम्वासी १ सय ३७ घरपरिवार रहेका छन् ।

निस्सा वितरण गर्दै पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा खुसी व्यक्त गरे । उनले क्रमश: अरु वडामा पनि निस्सा वितरण गर्दै जाने बताए ।
उनले वडा नम्वर २५ मा अव्यवस्थित वसाेवासका चार सय ३१ घरपरिवार निस्सा प्राप्तिकाे लागि दर्ता प्रकृयामा रहेकाे उल्लेख गरे ।
आचार्यले पोखरा महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा रहेकाे उद्घाेष गरे ।
उनले पोखरा महानगरपालिमा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा रहेको बताए ।

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि प्रारम्भ भएको बताए । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको जग्गाको निस्सा अव कसैले पनि खोस्न नसक्ने उनकाे भनाई छ । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को स्थान खोजेर भए पनि उचित व्यवस्थापन गर्ने पोख्रेलले बताए ।

पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष मोतीराज तिम्सिनाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरणको काम आफ्नै वडाबाट सुरु भएकाेमा खुसी व्यक्त गरे ।
वडा नं. २५ मा रहेका यस प्रकृतिका बसोबासीहरुको समस्याको दिगो समाधानमा जोड दिँदै उनले निस्सा वितरणको कामले पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले अहिलेकाे तथ्यांकमा केहि छुटपुट भयमा वडामा गुनासाे राख्न र छलफल गर्न सकिने बताए ।

राष्ट्रिय भूमि आयोग कास्कीको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट हालसम्म १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन सङ्कलन भएको छ । कास्की जिल्ला भर भने ३० हजारको हाराहारीमा यस प्रकृतिका परिवारहरूको बसोबास रहेको आयोगको अनुमान छ ।

निस्सा पाएकी सीता भन्छिन:”काेही नेपाली भुमिहीन हुन नपराेस”
निस्सा वितरण कार्यक्रममा मेयर धनराज आचार्यकाे हातबाट सबैभन्दा पहिला निस्सा पाएकी हेमजा २५ क्रान्तिटाेल निवासी मनिसा सुनार २५ वर्षपछिकाे संघर्षपछि निस्सा हात परेकाेमा खुसीले गदगद थिईन् । उनले वास नभएकालाई वास दिलाइदिने महानगरकाे कार्यकाे सह्रान गरिन् । उनले भनिन् :-“अब त हामीले यहि ठाउँकाे नागरिक हाैं, भनेर अधिकारका साथ बाेल्न र बस्न पाउने भयाैं । एकदम खुसी लागेकाे छ ।”

साेहि टाेलमा सीता गुरुङ थापा २७ वर्षदेखि बस्दै आएकी थिईन् । उनी भन्छिन् ‘काेहि पनि नेपाली भुमिहीन भएर बस्न नपराेस, हामी सुकुम्वासी हाेईनाैं । हामी नेपाली नागरिक हाैं । यो हाम्रो लागि ठुलो उपलब्धी हो, अव यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु ।’
निकै कठिनता र सङ्घर्षका बिचबाट आफूहरूले प्राप्त गरेको सेतो निस्सासँग आफूसँगै आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताइन् । सङ्घर्षरत लामो प्रतीक्षापछि एउटा सपना साकार भएको अनुभूति उनले गरेकी छिन् ।