वृद्धावस्थामा घिन्ताङ घिन्ताङ मादल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तारा पौडेल/पोखरा ।

पोखरा २५ हेमजाकी ७० वर्षीय आमा मुरली तिम्सिनाको दैनिकी हिजोआज मादलको घिन्ताङ घिन्ताङ तालसँगै वित्ने गरेको छ । कला र संस्कृतिको जर्गेना गर्न र महिलाहरुमा सीप विकास गर्ने उद्देश्यले पोखरा २५ हेमजामा सञ्चालित मादल बजाउने तालिममा सहभागि वृद्धा महिला हुन् उनी ।

चापाघाट आमा समूहको तर्फबाट सहभागि मुरली तिम्सिना दैनिकजसो मादल बजाउने तालिममा सहभागि हुन्छिन् । उनले सबैमा सीप सिक्ने जाँगर र उत्साह हुनुपर्ने बताउँछिन् । सीप सिकेर खेर नजाने भन्दै उनले पूजाआजा, गान भजन, विहे पर्दा अरु दाजुभाईलाई मादल बजाउन बोलाउदा अप्ठ्यारो भएको बताउँदै अव मादल सिकेपछि परिआउदा मादल बजाउन पछि नहट्ने विश्वास व्यक्त गरिन् ।

‘तन बुढो भए पनि रंग बुढो हुदैन् । मादल बजाउन रमाईलो लाग्छ । त्यसैले दिनदिनै नछुटाई सिक्न आएकी छु ।’ उनी भन्छिन् ‘म ज्येष्ठ नागरिक समूहमा पनि आवद्ध छु । हामीहरु भ्रमण जादा रमाईलो गर्नुपर्छ, मादल बजाउन कसैले जानिएन भने त्यहाँ रंगै हुदैन् । मलाई बाचुन्जेल रमाईलो गर्न मन छ । त्यसैले यो उमेरमा पनि मादल बजाउन सिक्न आएकी हुँ ।’

उनले म वृद्ध भए भनेर मन सानो नवनाउन आग्रह गरिन् । उमेरले हैन् मनले मान्छेलाई वृद्ध बनाउने भन्दै उनले मादल जस्तो वाद्यवादनको महत्वपूर्ण साधन बजाउन सिप सिक्ने अवसर पाउँदा खुसी व्यक्त गरिन् । उनले सीप सिके आफैलाई फाईदा हुने बताउँदै पाएको अवसर कसैले पनि नगुमाउन आग्रह गरिन् ।

नहरचोक आमा समूहकी ६९ वर्षीय हरिमाया नेपालीले आएको मौका नगुमाउन भनेर सहभागि मात्र हुँ भनेर आएपनि तालिमले मादल बजाउन सक्ने बनाएकोमा खुसी छिन् । उनले अव परिआएमा मादल बजाउन सक्ने भएकोे बताउँछिन् ।

जनकल्याण आमा समूहकी ६५ वर्षीय केशव कुमारी वाँस्तोलालाई तालिम अगाडी मादल बजाउन कत्ति पनि आउदैनथ्यो । जव उनी तालिममा सहभागि भईन् । उनले मादलको तालसँगै रमाउन सिकेकी छन् । उनी भन्छिन् ‘पहिला केहि पनि जान्दिनथे सिक्न आएपछि बजाउन हात बसेको छ अव अरु ताल त विस्तारै म आफै पनि सिक्न सक्छु ।’ उनले मादल जस्तै कुनै पनि सिप सिक्ने अवसर आउदा मौका नगुमाउन सबै महिला दिदिबहिनीहरुलाई अनुरोध समेत गरिन् ।

यस्तै मादल बजाउनै नजान्ने ६० वर्षीय मैयाँ खड्का पनि मादल बजाउने तालिममा सहभागि छन् । उनी खड्का आमा समूहकी प्रतिनिधि हुन् । उनले तालिमबाट मादल बजाउन जानेकोमा मख्ख छिन् ।


मादलको महत्व नेपाली लोक संस्कृतिसँग जोडिएको छ । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन् ।

नेपाली समाजको सबै सांस्कृतिक कार्यक्रमहरुमा यसको प्रयोग हुन्छ । जब मादलको ताल बज्छ,तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ ।


 सिद्ध विनायक आमा समूहकी ६० वर्षीय ज्ञानु केसी आफूले मादल वजाउन जाने बढेसकालसम्म पनि काम लाग्ने र नयाँ पुस्तालाई पनि मादलको महत्व बुझाउन र सिकाउन सजिलो हुने हुदा आफू पनि मादल सिक्न आएको बताईन् ।

देवीस्थान आमा समूहकी पूर्व अध्यक्ष तथा समावसेवी वुद्धदेवी कुँवरले ‘सरकारको धन हाम्रो मन’को सदुपयोग गरि तालिम लिएको बताँउदै तालिमले आफूलाई मादल बजाउन पोख्त दख्खल बनाएकोमा खुसी व्यक्त गरिन् ।

भाईरल आमाको नामले समेत परिचित कुँवरले वाजागाजामध्ये शिर्ष बाजा मादल भएको बताउँदै कला र संस्कृतिको जर्गेना गर्न मादल बजाउने तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले यस सिकाइले भविष्यमा नयाँ पुस्तालाई समेत मादलको महत्वबारे बुझाउन सकिने बताईन् ।

यी केहि उदाहरणीय प्रतिनिधि पात्र मात्र हुन् । तालिममा हेमजाका ४६ आमा समूहका ९२ जना भन्दा बढी युवादेखि वृद्ध उमेर समूहका महिला दिदिबहिनीहरु सहभागि छन् ।

महिला सञ्जाल हेमजाको आयोजना र पोखरा २५ हेमजाको आर्थिक सहयोगमा सञ्चालित तालिममा तालिममा समाजसेवी तथा संगितप्रशिक्षक  सम्वरबहादुर गायकले यहि फागुन १५ गतेदेखि दैनिक ३/४ घण्टा विष्णुपादुका माईस्थान मन्दिरको भवनमा मादल बजाउन सिकाईरहेका छन् । उनले तालिममा सहभागि महिला दिदिबहिनीहरु मादल बजाउन निकै नै उत्साहि भएकोले सिकाउन सहज भएको बताए ।

११ वर्षको उमेरदेखि मादल बजाउन थालेका प्रशिक्षक गायकसँग बाद्यबादनको साधनमा मादल र सारङ्गीको ४५ वर्षको अनुभव छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्