चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

  • ख-
  • ख+

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले एक कम्पनीलाई चन्द्रमाको सतहबाट चट्टान ल्याउनका लागि एक डलर भुक्तान गर्दैछ ।

लुनार आउटपोस्ट नामक उक्त कम्पनीलाई नासाले हालै चन्द्रमाबाट ढुंगा ल्याउने ठेक्का दिएको हो । उक्त कम्पनीले अब नासाका लागि चन्द्रमाबाट चट्टानको नमूना ल्याउनेछ ।

नासाले निकै कम खर्चमा चन्द्रमाबाट यस्तै खाले नमूनाहरु संकलनका लागि लुनार आउटपोस्ट जस्तै विभिन्न चारवटा सम्झौता गरेको छ ।

त्यसमा क्यालिफोर्नियास्थित मास्टेन स्पेस सिस्टम्स, टोक्योस्थित आइस्पेस तथा उसैको युरोपेली सहायक कम्पनी रहेका छन् ।
नासाले ती कम्पनीहरुलाई चन्द्रमाको सतहबाट ढुंगा तथा माटो लगायतका नमूनाहरु संकलन गरेर ल्याउने जिम्मा दिएको हो ।

ती नमूनाहरु प्रतिनमूना ५० ग्रामदेखि ५ सय ग्रामको वजनको बीचमा हुनसक्ने नासाले जनाएको छ ।

नासाका प्रवक्ताले भनेका छन्, ‘यी कम्पनीहरुले हाम्रा लागि नमूना एकत्रित गर्ने छन् र हामीलाई दृश्य सबुत प्रदान गर्ने छन् । त्यसका साथै त्यससँग सम्बन्धित डाटा पनि दिने छन् । त्यसबाट चन्द्रमासँग सम्बन्धित अन्य जानकारीहरु पनि हामीलाई प्राप्त हुनेछन् ।’

लुनार आउटपोष्टका सिइओ जस्टिन साइरसले बीबीसीसँग भनेका छन्, ‘यो मिसन २०२३ मा हुने हो । तर हामी केही कम्पनीहरुसँग कुराकानी गरिरहेका छौँ जसको सहयोगले यसको सुरुवातको मिति केही पहिला पनि ल्याउन सकिनेछ ।’

अमेरिकाको कोलोराडोस्थ्ति लुनार आउटपोस्ट एक रोबोटिक्स कम्पनी हो । नासाका अनुसार उक्त कम्पनीले चन्द्रमाको दक्षिण ध्रुवबाट चट्टान एकत्रित गर्नका लागि एक अमेरिकी डलर प्राप्त गर्नेछ ।

तर उक्त मिसनका लागि जुन रकम नासाले ती कम्पनीहरुलाई दिनेछ त्यो वास्तवमा परिमाणमा नगन्य नै हो । तथापि नासासँगको सहकार्यले ती कम्पनीहरुलाई प्रेरणामात्र दिने छैन ती कम्पनीहरुलाई विभिन्न वैज्ञानिक लाभ पनि प्राप्त हुनेछन् । जस्तै ः चन्द्रमाको सतहबाट संशाधनहरु निकाल्ने अभ्यासका लागि समेत अनुमति मिल्नेछ ।

साइरसका अनुसार उक्त मिसनबाट ठूलो बदलाव आउनेवाला छ । खासगरी अन्तरीक्षको खोज सम्बन्धमा रहेको सोच पनि बदल्नेछ ।

साइरसको कम्पनी ब्लु ओरिजिन जस्ता अन्य कतिपय कम्पनीहरुसँग सम्पर्कमा छ । जो विशेष रुपबाट चन्द्रमासम्म उडान भर्ने काम गरिरहेको छ । अमेजनको संस्थापक जेफ बेजोसको ब्लु ओरिजिन स्थापनामा मुख्य भूमिका रहेको छ ।

जापानको जुन कम्पनीसँग नासाले सम्झौता गरेको छ, उसलाई पाँच हजार अमेरिकी डलर दिइनेछ र उक्त कम्पनी सन् २०२२ मा चन्द्रमाको उत्तरपूर्वी क्षेत्रबाट नमुना संकलन गर्नेछ ।

तीन किस्तामा मिल्नेछ एक डलर

अन्तरीक्ष विशेषज्ञ सिनिएड ओ सुलिभान भन्छन्, ‘अन्तरीक्ष कार्यक्रमका लागि एक अमेरिकी डलर जस्तो रकमको भुक्तान यहाँ महत्वपूर्ण होइन । तर यो महत्वपूर्ण छ कि नासाले यस्तो कार्यक्रमहरुमा भाग लिइरहेको छ र नयाँ उदाहरण पेश गरिरहेको छ ।’

उनका अनुसार उक्त कार्यक्रममा संलग्न पैसा महत्वपूर्ण होइन, तथापि पृथ्वीको बाहिर खरीदकर्ता र बिक्रेताहरुको बजार बनाउनका लागि व्यवसायिक तथा कानूनी मापदण्ड बनाउनका लागि चाहिँ महत्वपूर्ण छ ।

नासाले बताएअनुसार तीनवटा कम्पनीहरुको पुरस्कारको भुक्तान ३ किस्तामा हुनेछ । पहिलो चरणमा कम्पनीहरुलाई १० प्रतिशत रकम भुक्तान हुनेछ, फेरि १० प्रतिशत रकम स्याटेलाइट लञ्च हुने बेलामा गरिन्छ । बाँकी ८० प्रतिशत चाहिँ नमूना संकलन भएको प्रमाणित भएसँगै हुनेछ ।

–बीबीसी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्