संघर्ष,सेवा र समर्पणसंगै परिचित नामः’मर्दी हिमालका चिया काका’

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । मर्दी हिमालको भ्यू क्याम्पमा विहानको ३ बजेसँगै चिया काकाको दिनको शुरुवात हुन्छ । उनका हातमा १५ लिटर पानी, चिनी र चियापत्तिको प्याकेट हुन्छ । यिनै साधारण चिजहरूले उनी आफ्नो व्यवसाय र दायित्वको प्रतीक बनेका छन् । चिया काकाको जीवन यात्रा केवल चिया बेच्ने व्यापारको कथा मात्र होइन, संघर्ष, सेवा र समर्पणको अभिव्यक्ति हो ।

मर्दी हिमालका चिया काका नामले परिचित उनको वास्तविक नाम टंकप्रसाद गौतम हो । उनको जन्म माछापुच्छ्रे गाउँपालिका, वडा नं. ९ सिदिङमा भएको हो । दश कक्षासम्मको औपचारिक शिक्षा प्राप्त गरेका उनलाई आर्थिक समस्याले नयाँ अवसरका लागि विदेश जान प्रेरित गर्यो । काका भन्छन्, “मैले पढ्न चाहन्थें, तर परिवारको आर्थिक अवस्थाले मलाई संघर्ष गर्न बाध्य बनायो ।”

चिया काका १७ वर्षसम्म परदेशी जीवन बिताए । उनले सो अवधिमा मलेसिया, दुबई र कतारमा काम गरे । तर, परदेशमा भएपनि उनको मन सधैं मर्दी हिमालको यादमा रमाइरहन्थे । उनले विदेशमा परिश्रम गरेँ पनि घरको सम्झनाले मन कहिल्यै शान्त नभएको विदेश वसाईँको यादहरु स्मरण गरे ।

स्वदेश फर्केर चिया काकाले मर्दी हिमालको भ्यू क्याम्पमा चिया बेच्न थाले । आजभन्दा आठ वर्ष अगाडि उनले यो व्यवसाय शुरु गरेका थिए । उनको यो सेवा मर्दी हिमालका पर्यटकहरूको प्रिय बनेको छ । हातमा पानी, चिनी र पत्तिको प्याकेट लिएर चिया काका हरेक बिहान क्याम्पतर्फ यात्रा सुरु गर्छन् । उनका चियामा मात्र स्वाद होइन, एक आत्मियता र माया पनि छ । “म यहाँ सबैलाई माया र सेवा दिने अवसर पाउँछु ।” उनी भन्छन “चिया बेच्नु मात्र मेरो पेशा होइन, यो मेरो आत्मनिर्भरता र साहसको यात्रा हो।”

चिया काकाको चिया केवल सस्तो र स्वादिलो होइन, यसले पर्यटकहरूको मनमा गहिरो छाप पनि छोड्दछ। पर्यटकहरूले उनलाई ’चिया काका’ भनेर सम्बोधन गर्दा, उनको अनुहारमा खुशीको झल्को देखिन्छ । “म यहाँ पुग्दा यस्तो सादगी र आत्मीयताले मात्र मलाई शान्ति दिइरहेको छ,।” एक पर्यटकले भनेका छन् ।
चिया काकाको यो कार्यशैली र सेवाले मर्दी हिमालको चिया व्यवसायलाई केवल व्यापारको रूपमा नभई एक आदर्शको रूपमा स्थापित गरेको छ । जीवन जस्तो छ, त्यसलाई जित्नका लागि संघर्ष गर्नु पर्छ भन्ने चिया काकाको अनुभव छ ।

उनको सेवा, संघर्ष र समर्पणको कथा सबैका लागि एक प्रेरणा हो, जसले जीवनका कठिनाइलाई मिठासमा बदल्नका लागि मेहनत र सेवा अर्पण गर्न अभिप्रेरित गर्छ । मर्दी हिमालका पर्यटकहरूको लागि चिया काका केवल चिया बेच्ने व्यक्ति मात्र होइनन्, उनी एक उदाहरण र प्रेरणाका स्रोत पनि हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्