
पोखरा । देश विकासको सपना बोकेर हिँडेका लाखौं नेपालीहरू आफ्नो जन्मभूमि छोडेर विदेशिन बाध्य छन्। खाडीका तात्ता मरुभूमिबाट, मलायसियाका कारखानाबाट, या यूरोप-अमेरिकाका सहरबाट उनीहरूले नेपाललाई सम्झेर आङ सिरिङ्ग पार्ने कथा सुनाउँछन्।
तर किन हाम्रो माटोमा नै हाँस्ने अवस्था आउँदैन? यही प्रश्नलाई शब्द र संगीतमा उनेर काठमाडौं महानगरपालिकाका मेयर तथा चर्चित हिपहप कलाकार बालेन शाह ले आफ्नो नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक गरेका छन्। फिल्म ‘लाज शरणम्’ को प्रमोसनल गीत को रूपमा ल्याइएको यो गीत अहिले दर्शक-श्रोतामाझ चर्चाको विषय बनेको छ।
‘नेपाल हाँसेको’ पहिलो पटक करिब १० वर्षअघि सार्वजनिक भएको थियो। तर, त्यसबेला यसको भिडिओ तयार गरिएको थिएन। अहिले भने यो गीतलाई पुनः रेकर्ड गरेर दमदार भिडिओ बनाइएको छ, जसमा गम्भीर विष्ट को निर्देशनमा वैदेशिक रोजगारीले नेपाली परिवारमा पारेको असरलाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ। गीतका हरफहरूले तिनै श्रमिक नेपालीको पीडा बोलेका छन्, जसले आफ्नो माटो छोड्न नचाहे पनि पेट पाल्न बाध्य भएर परदेशिन्छन्।
बालेन शाहले राजनीतिमा मात्र होइन, संगीतमार्फत पनि समाजको यथार्थ चित्रण गर्दै आएका छन्। उनी नेपाली हिपहपका एक सशक्त कलाकार हुन्, जसका गीतहरूले सँधै समाज परिवर्तनको आवाज उठाउने गरेका छन्। ‘नेपाल हाँसेको’ मा उनले राष्ट्रप्रेम, सपना, संघर्ष, र नेपाली पहिचान को कथा बोलेका छन्। “नेपाली किन हाँस्न सक्दैन?” भन्ने प्रश्नको उत्तर खोज्दै उनले यो गीत तयार पारेका हुन्।
फिल्म ‘लाज शरणम्’ मा भने यो गीत समावेश गरिएको छैन। तर, यसको भावनात्मक सम्बन्ध फिल्मको कथासँग गहिरो भएकाले यसलाई प्रचारात्मक गीतका रूपमा सार्वजनिक गरिएको हो। फागुन १४ गते (महाशिवरात्रि) मा प्रदर्शन हुने यो फिल्म नेपाली समाजको वास्तविक कथा बोकेको बताइएको छ।
https://youtu.be/lCJRnlXy6SM?si=69VZKnVn6Ig6x_pZ
गीतको भिडिओमा अर्जुन घिमिरे, हरिष निरौला, सागर लम्साल, महेश त्रिपाठी, गजित विष्ट, रामबाबु रेग्मी, सानु पाण्डे र बाल कलाकार आयुषी ढकाल को दमदार अभिनय देख्न सकिन्छ। भिडिओले विदेशिएका नेपालीहरूको संघर्ष, उनीहरूका परिवारको पर्खाइ, र माटोको मायालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
नेपाल हाँस्नका लागि के चाहिन्छ? अवसर, न्याय, समानता, र आत्मनिर्भर अर्थतन्त्र। जबसम्म हाम्रा युवाहरूलाई आफ्नै देशमा बाँच्ने, काम गर्ने, र सपना पूरा गर्ने अवसर प्राप्त हुँदैन, तबसम्म विदेशिने क्रम रोकिँदैन। बालेन शाहको यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, चेतना जगाउने एउटा अभियान हो। देशभित्रै हाँस्न सक्ने वातावरण बनाउन हामी सबैको जिम्मेवारी छ।