एनप्याब्सन तनहुँद्वारा दमौली अस्पताललाई पिपिइ सहयोग

  • ख-
  • ख+

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) तनहुँले दमौली अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध गराएको छ । पिपिईको अभावमा स्वास्थ्यकर्मी बिरामीको परीक्षण गर्न डराइरहेको समाचार प्रकाशित भइरहेको बेला एनप्याब्सनले अस्पताललाई १५ थान पिपिइ सहयोग गरेको हो ।

एनप्याब्सनका जिल्ला अध्यक्ष रामकृष्ण विकले अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारी र मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेललाई बुधबार ती पिपिइ हस्तान्तरण गर्नुभयो । कोभिड–१९ को महामारीको अवस्थामा अस्पतालमा आउने सबैखाले बिरामीले सहजरूपमा सेवा पाउन् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध गराइएको एनप्याब्सनका अध्यक्ष विकले बताउनुभय। “सामान्य रुघाखोकी र ज्वरो आएर अस्पताल आउँदा पनि स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गर्न नमानेको खबरहरु आइरहेका हुन्छन्,” विकले भन्नुभयो, “सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीको मनोबल उच्च भई बिरामीको स्वास्थ्य परीक्षणमा सहयोगी बन्ने विश्वास लिएका छौँ ।”

अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले निजी विद्यालयको छाता सङ्गठनले अहिलेको महामारीको अवस्थामा स्वास्थ्य संस्थालाई सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गर्नुभयो । स्वास्थ्य सामग्री पर्याप्त भएमा स्वास्थ्यकर्मीको मनोबल उच्च भई उपचारमा लाग्न प्रेरित हुने अधिकारीले बताउनुभयो ।

कोभिड–१९ का शङ्कास्पद बिरामीका लागि अस्पतालमै स्वाब सङ्कलन गर्ने व्यवस्था मिलाइएकाले त्यस्ता बिरामीलाई निर्धक्क भएर अस्पताल आउन अधिकारीले आग्रह गर्नुभयो । “अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहजरूपमा सेवा दिन हामी तयार छौँ”, अधिकारीले भन्नुभयो । केही समयअगाडि मात्रै लायन्स क्लब अफ नेपाल ३२५ वि १ ले पनि अस्पताललाई आठ थान पिपिइ सहयोग गरेको थियो ।

अस्पतालले यसअघि नै १२ थान पिपिइको व्यवस्थापन गरिसकेको थियो । अधिकारीका अनुसार गण्डकी प्रदेश सरकारले दुई थान पिपिइ उपलब्ध गराएको छ भने दश थान अस्पताल आफैँले खरिद गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्