नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

टोकियो ।

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा थप देशहरूमा समेत शाखा विस्तारको आवश्यकता रहेको बताईन्।

उनले प्रवासबाट पत्रकारिता गरे पनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह गरिन। फरक प्रसङ्गमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिईन।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहरी तथा नव-निर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, प्रमाणपत्र वितरण तथा पदभार हस्तान्तरण गरिएको थियो।

छैटौं अधिवेशनले रविन्द्र श्रेष्ठलाई अध्यक्ष, मनिषा चम्लागाई र लक्ष्मी शर्मालाई उपाध्यक्ष, अर्जुन लामिछानेलाई सचिव, विष्णु सापकोटालाई सहसचिव, फुर्वा शेर्पालाई सहसचिव र निशान रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको थियो।

अधिवेशनबाट दिनेश थापा, भवानी भट्ट, रामचन्द्र गिरी, भुवन भण्डारी, दुर्गा प्रसाद आचार्य र विनोद ढकाल सदस्यमा निर्वाचित भएका थिए।

कार्यक्रम निर्वाचन समिति संयोजक खगराज गौतमको अध्यक्षता, सदस्य खड्का गुरुङको स्वागत मन्तव्य तथा सदस्य पूर्ण चलाउनेको सञ्चालनमा सम्पन्न भएको थियो।

त्यसैगरी, नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताईन।

नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित कार्यक्रममा जापानभरिबाट विभिन्न सञ्चारमाध्यममा संलग्न नेपाली पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

यसैबीच, नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

बैठकले संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी तथा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी राजन गौतमलाई सल्लाहकारमा चयन गरेको छ।

बैठकले महासंघलाई जापानमा विधिवत् रूपमा दर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन अध्यक्ष रविन्द्र श्रेष्ठ संयोजक, शान्त पहारी र दीपक गौतम सदस्य रहेको समितिलाई जिम्मा दिएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखालाई अझ सक्रिय र प्रभावकारी बनाउनका उद्देश्यले नेपालीहरूको बसोबास बढी रहेका तीन क्षेत्रमा ‘मिडिया समन्वय समिति’ गठन गर्ने निर्णय गरिएको छ। सोहीअनुसार—
• नागोया क्षेत्रमा भूलबहादुर राना (निशान),
• ओसाका क्षेत्रमा रामचन्द्र गिरी,
• हिरोशिमा/फुकुओका क्षेत्रमा भुवन भण्डारीलाई क्षेत्रगत समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ।

बैठकले पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा पत्रकार कल्याण कोषको कार्यविधि बनाउनका लागि निवर्तमान अध्यक्ष शान्त पहारी संयोजक, सचिव अर्जुन लामिछाने र कोषाध्यक्ष भुलबहादुर राना (निसान) सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्