पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ। केही दिनदेखि चलिरहेको मन्त्री फेरबदलको चर्चाबीच मुख्यमन्त्री पाण्डेले एकैपटक ८ जना मन्त्री परिवर्तन गरेका हुन्।
कांग्रेस र एमालेबीच भएको भागबण्डा अनुसार दुवै दलले ४/४ वटा मन्त्रालय पाएका छन्। पुनर्गठनसँगै अघिल्ला सबै मन्त्रीलाई हटाएर नयाँ अनुहारलाई जिम्मेवारी दिइएको छ।
नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् भने यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री नियुक्त भएकी छन्।
त्यसैगरी, लक्ष्मण पाण्डेले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालेका छन् भने भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन्।
नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री बनेका छन्। नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् भने नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनेका छन्।
रेखा गुरुङले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए।
यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए। ऊर्जा मन्त्रालय भने मुख्यमन्त्री पाण्डे आफैंले सम्हाल्दै आएका थिए।
नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। डिल्लीराज भट्ट ले मुख्यमन्त्रीको सिफारिसमा शपथ गराएका हुन्। गण्डकी प्रदेश मन्त्रिपरिषद् अहिले ९ सदस्यीय रहेको छ।
संघीय स्तरको सत्ता समीकरणअनुसार गण्डकीमा पनि कांग्रेस र एमालेबीच सहकार्य कायम छ। यस पुनर्गठनसँगै दुवै दलले पुराना मन्त्री हटाएर नयाँ टिममार्फत सरकार सञ्चालनलाई निरन्तरता दिने रणनीति लिएको देखिन्छ।









