फिर्केखोला करिडाेर अभियान अधुरै, अतिक्रमण हटाउन पुनः दबाब

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला करिडोर अभियानलाई पूर्णता दिन माग गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले खोलाघर खाली गर्ने अभियान बीचमै रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोग सुनिश्चित गर्न सबै अतिक्रमित संरचना हटाउन सम्बन्धित निकायसँग आग्रह गरेका हुन्।

विज्ञप्तिअनुसार पोखरा महानगरपालिका–१८, २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालको गाईघाटमा समाहित हुने करिब ८ किलोमिटर लामो फिर्केखोला जैविक विविधता र पर्यावरणीय दृष्टिले पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। विगत १५ वर्षदेखि नागरिकस्तरबाट ‘फिर्केखोला बचाउ अभियान’ हुँदै ‘फिर्के–बुलौदी खोला बृहत् सफाइ अभियान’ सञ्चालन गरी फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदलमार्ग तथा साइकल लेन निर्माणको अवधारणासहित दबाबमूलक अभियान सञ्चालन हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

नागरिक समाजले पछिल्ला वर्षमा अनियन्त्रित अतिक्रमण, फोहोरमैला व्यवस्थापनमा कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनको अभावका कारण फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि गम्भीर चुनौती थपिएको जनाएको छ।

नेपाल सरकारको नीतिअनुसार देशभर सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत फिर्केखोलामा सुरु गरिएको डोजर अभियानलाई स्वागतयोग्य कदम भन्दै विज्ञप्तिमा सुरुआती चरणमा उत्साहजनक रूपमा अघि बढेको अभियान केही दिनमै सुस्ताएर स्थगित हुनु दुःखद भएको उल्लेख गरिएको छ। अभियानलाई बीचमै रोक्नु भनेको फिर्केखोला करिडोर निर्माणको उद्देश्यलाई नै कमजोर बनाउनु भएको नागरिक समाजको ठहर छ।

विज्ञप्तिअनुसार वडा नम्बर ४, ५, ७ र ८ का विभिन्न स्थानमा खोलाघरभित्र निर्माण गरिएका घर, टहरा, पर्खाल, समाजघर, विद्यालय, कुखुराघरलगायतका संरचना अझै पूर्ण रूपमा हटाइएको छैन। केही स्थानमा संरचना आंशिक रूपमा मात्र हटाइएकाले त्यहाँ अझै बसोबास तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गरिएको छ। कतिपय वडामा पर्खाल र गौंडासमेत हटाउन नसक्नु सम्बन्धित जनप्रतिनिधिको निरीहता भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ।

विज्ञप्तिमा वडा नम्बर ४ अन्तर्गत पर्याङ पुल क्षेत्र, भयरस्थान तथा साबिक स्काउट कम्पाउण्ड आसपासका संरचना, वडा नम्बर ५ मा रेडियो नेपाल, रिठेगौंडा, रेडक्रस पुल र पोखरा इन्जिनियरिङ कलेज आसपासका भवन, वडा नम्बर ८ मा विभिन्न समाजघर, पोखरा इन्जिनियरिङ कलेज, लिटिल स्टेप स्कुल आसपासका संरचना तथा वडा नम्बर ७ मा मासबार–रत्नचोक पुल क्षेत्र, लिटिल स्टेप स्कुल उत्तरतर्फ र मालपोत नजिकको कुखुराघर अझै नहटाइएको उल्लेख गरिएको छ।

नागरिक समाज कास्कीका प्रवक्ता गोकुलबहादुर कार्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा फिर्केखोलाको दीर्घकालीन संरक्षणका लागि अभियानलाई निष्पक्ष, प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गरी खोलाघरभित्र रहेका सम्पूर्ण अतिक्रमित संरचना हटाएर करिडोर निर्माण कार्यलाई पूर्णता दिन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्