पोखरा । पोखरामा आयोजना हुन लागेको ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ को तयारी पूरा भएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा आईतबार कोजाग्रत पूर्णिमाका दिन पोखराको बाराहीघाट खेलमैदानमा महोत्सव हुन लागेको हो ।
‘टिका, जमरा र चंगा चेट, पोखरामा पर्यटनसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवको तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको ओटेफका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले जानकारी दिईन् । महोत्सवमा नेपाली खानाका परिकार, परम्परागत सामग्री तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिनेछ ।
महोत्सवका अवसरमा खहरे चोकदेखि विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली निकालिनेछ । साथै, ज्येष्ठ नागरिकले स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता सञ्चालन गर्ने तथा विभिन्न समुदायका मौलिक सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
ओटेफका अध्यक्ष ममता न्यौपानेले महोत्सवमा सहभागी हुन २५० भन्दा बढी विदेशी पाहुनालाई निमन्त्रणा गरिएको जानकारी दिईन् । उनका अनुसार महोत्सव सफल बनाउन विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले महोत्सवले दसैँलाई पर्यटनसँग जोड्नुका साथै नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले परिषद्का तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पोखराका सबै पर्यटनसम्बद्ध संस्थालाई महोत्सव साझा कार्यक्रमका रूपमा लिएर सहयोग गर्न आग्रह गरे ।
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले महोत्सव पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने महत्वपूर्ण अवसर भएको बताईन् ।









