दाहालबाट धोका भयो: नेपाल समूह

  • ख-
  • ख+

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ। 

पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै गएका बेला शनिबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहले निकालेको हो। नेपाल समूह पार्टीभित्र दाहालको भूमिकालाई लिएर थप सशंकित बनेको छ। बैठकअघि दाहालले पार्टीभित्रको संघर्षमा नेपाल समूहलाई साथ दिने बताएका थिए। 

दुई अध्यक्षले चोचोमोचो मिलाएर वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने प्रस्ताव बैठकमा पेस गरी अन्य विषयलाई उपेक्षा गरेको भन्दै नेपाल समूह  असन्तुष्ट बनेको छ। 

कोटेश्वरमा आइतबार भएको आफू निकटको भेलामा नेता नेपालले सचिवालय बैठकमा रहस्यमय रुपमा ओलीसँग मिलेर दाहालले आफूलाई धोका दिएको बताएका थिए। ‘धोका नै दिएको त भन्न सक्दिनँ तर दुवै अध्यक्ष  मिल्नुको रहस्य के हो भन्नेचाहिँ बुझ्न सकिएन’, भेलामा नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,  ‘मलाई कुनै पदको लोभ छैन।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहको छ। 
 

पार्टीभित्रका विकृति र पार्टी सञ्चालनमा देखिएका समस्या हटाएर विधिसम्मत पार्टी सञ्चालन गर्नुपर्ने कुरा धेरै पहिलेदेखि उठाएको हुँ। मैले विधि र पद्धतिकै विषयमा कुरा उठाउने हो, पद र प्रतिष्ठा मेरा लागि गौण हो। यो विषयमा तपार्इंहरुले यसअघि पनि साथ दिनुभएको छ भोलि पनि साथ दिनुछ।’ 

भेलामा नेपालले सचिवालय बैठकबारे जानकारी गराउँदै सहभागीलाई अब कसरी अघि बढ्ने भन्नबारे सुझाव दिन भनेका थिए। ‘सचिवालय बैठकबारे मैले सबै विवरण बताए। यसबारे तपार्इंहरु निष्कर्ष निकाल्नुस् र अब कसरी अघि बढ्ने भन्ने सुझाव दिनुस्,’ भेलामा सहभागी स्थायी कमिटीका एक सदस्यले नेपाललाई उद्धृत गर्दै भने।

भेलामा सहभागी स्थायी कमिटीका अर्का सदस्य बेदुराम भुसालले स्थायी कमिटीको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताए। ‘सामान्य छलफल भएको हो। ठूलो चिज केही भएको छैन। स्थायी कमिटीको बैठकबारे सामान्य छलफल गर्नुपर्ने थियो। त्यसैले भेटघाट भएको हो’, भुसालले भने। 

नेपाल निवासमा आइतबार दिउँसो उनी निकट काठमाडौंमा भएका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य भेला भएका थिए। भेलामा सहभागीले अध्यक्ष दाहालको भूमिका सधै शंकास्पद हुने गरेको र अहिले पनि ओलीसँग मिलेर धोका दिएको बताएका थिए। 

नेता जगन्नाथ खतिवडाका अनुसार नेपाल निवासमा ४० भन्दा बढी केन्द्रीय सदस्य जम्मा  भएका थिए। त्यसैगरी स्थायी कमिटीका सदस्य पनि सहभागी भएको उनले बताए। नेपालले स्थायी कमिटी सदस्यसँग अलगअलगत छलफल गरेका थिए। ‘भेलामा सचिवालयभित्रै पदलोलुपता र अवसरवाद छ भने सिंगो पार्टी  कसरी अघि बढ्छ भन्ने विषयमा  छलफल भयो ? पदलोलुपता र अवसरवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था पार्टीमा देखिएको भेलाको निष्कर्ष छ’, खतिवडाले भने। 

यसअघि दाहालले नेता नेपालले अघि सारेको ‘पार्टीमा एक व्यक्ति एक जिम्मेवारी’ अवधारणलाई समर्थन गर्दै आएका थिए। तर शनिबार दाहाल एकाएक ओलीसँग मिलेपछि सचिवालय बैठकबाट सार्थक परिणाम ल्याउन नसकिएको नेपालले बताएका थिए। भेलामा सहभागीले सचिवालय बैठकअघि दाहालसँग भएका छलफलबारे जानकारी गराउन नेपाललाई आग्रह गरेका थिए।

शनिबार सचिवालय बैठक बस्नुअघि ओलीले दाहालसँग गोप्य छलफल गरी पार्टी सञ्चालनको जिम्मा दिने प्रतिबद्धता व्यक्त गरेको स्रोतको दाबी छ। ‘पार्टीमा बैठक सञ्चालनदेखि सबै अधिकार दाहाललाई दिन ओली सहमत भएका छन्। त्यसै अनुसार अब नियमावली बनाएर दाहाललाई लिखित अधिकार प्रत्यायोजन हुनेछ’, ओली निकट एक स्थायी कमिटी सदस्यले भने। 

सचिवालय बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्ति संघर्ष सहमतिका आधारमा टुंग्याउने निर्णय गरेको छ। २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने र नेता गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णय पनि गरेको छ। बैठकमा ओली र दाहालले पार्टी र सरकार सञ्चालनमा भएका कमीकमजोरीबारे आत्मालोचना गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्