साढे ९ लाखमा बिक्यो एलन मस्कले जाँचेको उत्तरपुस्तिका

  • ख-
  • ख+

एजेन्सी / विश्वका नम्बरवान धनाढ्य तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले जाँचेर नम्बर दिएको एउटा उत्तर पुस्तिका झण्डै साढे ९ लाख रुपैयाँ बराबरको मूल्यमा लिलामी भएको छ ।

सन् १९९५ मा युनिभर्सिटी अफ पेन्सिल्भेनियामा शिक्षक रहँदा उनले जाँचेर नम्बर दिएको उत्तर पुस्तिका ७ हजार ७५३ अमेरिकी डलरमा बिक्री भएको हो ।

डेलीमेलका अनुसार आफ्नो इकोनोमिक्स तथा भौतिकशास्त्रको डिग्री लिइरहँदा मस्कले प्राध्यापक माइल्स बासले पढाएका व्यवस्थापन विषयका धेरै परीक्षार्थीको उत्तरपुस्तिका मूल्यांकन गरेका थिए ।

हाल लिलामी भएको उत्तर पुस्तिका उनै प्राध्यापक बासका विद्यार्थी ब्राएन थोमसको हो । उत्तरपुस्तिकामा एक्जिट रणनीति विषयको प्रश्नमा उत्तर लेख्ने क्रममा उनले एउटा जोकयुक्त पदावली पनि प्रयोग गरेका छन् ।

तर जाँचकी मस्कले उक्त पदावलीलाई उपयुक्त ठहराएनन् र त्यसलाई अनुपयुक्त भनेर कमेन्ट गरेका छन् । असान्दर्भिक जोकबापत उनले थोमसको दुई अंक कट्टा गरिदिएका छन् ।

स्मरण रहोस् टेस्ला तथा स्पेस एक्स कम्पनी खोलेर विश्वकै धनाढ्य बन्नु अगाडि एलन मस्क पेन्सिल्भेनिया विश्वविद्यालय अन्तरगतको ह्वार्टन स्कुल अफ बिजनेसमा विद्यार्थी तथा शि्क्षण सहायकको रुपमा कार्यरत थिए ।

आफ्नो उत्तर पुस्तिका लिलामीमा राखेका थोमसले आफ्नो घरको ग्यारेजमा छोरासँगै स्कुलका वार्षिक पुस्तिका खोजिरहेको बेला मस्कले जाँचेको उक्त उत्तरपुस्तिका फेला पारेका थिए । प्राध्यापक बाससँग पढेको मिठो सम्झनाको रुपमा उनले उक्त उत्तरपुस्तिका जतन गरी राखेका रहेछन् । प्राध्यापक बासको सन् २०१० मा मृत्यु भैसकेको छ ।

ग्यारेजमा महत्वपूर्ण उत्तरपुस्तिका फेला परेपछि उनले त्यसलाई लिलामीका लागि बोस्टस्थित आर आर अक्सनलाई प्रदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्