पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा बुधबारदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिमको उदघाटन गर्दै मन्त्री थापाले मिडिया विधेयक पत्रकारको हित बमोजिम नै आउने बताए ।
‘मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गर्छु’, उनले भने,‘ आमसंचार विधेयक पत्रकारको हित बमोजिम नै ल्याउँछौं,यसमा ढुक्क हुनुहोस् ।’
आम संचार विधेयक अहिले विचाराधिन अवस्थामा रहेको र विद्यायन समितिमा छलफलकै क्रममा रहेको मन्त्री थापाले जानकारी गराए । पत्रकारिता जगतका विज्ञहरुलाई राखेर मिडियामैत्री कानून निर्माण गर्ने पक्षमा आफु रहेको भनाई उनको छ ।
‘विद्यायन समितिका सभापतिसँग मिडिया विधेयकका बारेमा पटकपटक छलफल भइरहेको छ । बालबालिकाको विधेयक अहिले छलफलमा रहेछ र यसपछि आमसंचार विधेयकलाई अगाडि बढाउने प्रक्रियामा हामी छौं ।’,उनले भने ।
आमसंचार विधेयक समयानूकुल पास गरिसकेपछि प्रेस रजिष्टारको कार्यालय पोखरामा रहने र प्रेस रजिष्टारको नियुक्तीका विषयमा पनि देखिएका विवादलाई सम्बोधन गर्ने गरी मिडिया विधेयक ल्याइने मन्त्री थापाले बताए ।
पोखरा लगायत गण्डकी प्रदेशमा संचालनमा रहेका मिडियाहरुले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ ।
मन्त्री थापाले पत्रकारिता क्षेत्रका लागि अहिलेको सरकार सकरात्मक रहेको बताए । पत्रकारका हकहित, क्षमता विकास र संरक्षणका लागि बजेट विनियोजन समेत सकरात्मक रहेको उल्लेख गरे ।
पत्रकार महासंघ कास्कीको भौतिक स्तर उन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन गर्नु,प्रदेशका ११ वटै जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि ६० लाख विनियोजन गर्नुले अहिलको सरकार पत्रकार र सम्बद्ध संघसंस्थाको हित बमोजिम नै रहेको जनाउने उनले बताए ।
लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढंगबाट वितरण गर्ने गरी संचार मन्त्रालय अगाडि बढेको उनले बताए ।
मन्त्री थापाले मन्त्रालयका लागि विनियोजित भएको बजेटलाई सदुपयोग गर्ने गरी आफु लागिरहेको उल्लेख गरे । ‘मन्त्रीको रुपमा कार्यभार सम्हालिसकेपछि सम्झन योग्य काम गर्ने पक्षमा म छु । मेरो मन्त्रालयमा विनियोजित भएको बजेटलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने जिम्मेबारीका साथ अगाडि बढीरहेको छु । अब छिट्टै रिजल्ट पाउनुहुनेछ’, उनले भने ।
मन्त्रालयमा आफूहरु यत्तिकै नबसेको र जागिर मात्र नखाएको अभिव्यक्ति उनको छ ।
पत्रकारिताको मर्यादा भित्र रहेर काम गर्न पत्रकारलाई मन्त्री थापाको आग्रह छ । पत्रकारिता क्षेत्रबाट पनि विकृति विसंगति मौलाएको भन्दै उनले यसको संरक्षणमा सम्बद्ध संस्था लाग्नुपर्ने उल्लेख गरे ।
कसैको व्यक्तिगत प्रतिष्ठालाई नै भंग गर्ने गरी आधारहीन र एक पक्ष समाचार लेख्न पत्रकारलाई छुट नभएको उनले बताए ।
पत्रकारितालाई समाजसँग जोड्न आवश्यक : धर्मेन्द्र झा
नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्ष तथा आधारभूत पत्रकारिता तालिमका सहजकर्ता धर्मेन्द्र झाले पत्रकारितालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका छन् । जनतासँग नजोडिएको पत्रकारिताको काम नभएको भनाई उनको छ ।
झाले हालको नेपाली पत्रकारितालाई नेपाली समाज र जनतासँग जोड्न नसकिएको बताए । उनले मिडियाकर्मी र मिडिया जिम्मेबार हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
झाले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको बताए ।
उनले कताकता पत्रकारिता गर्ने व्यक्ति र संस्था नै थाकेको आभाष भएको उल्लेख गरे । पत्रकारिता क्षेत्रमा नयाँ जनशक्तिको खोज गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । पत्रकारिता युनिर्भरसिटीहरुमा पढाई भएता पनि पत्रकारिता नै गर्ने गरी नयाँ पुस्ता नआएको भनाई उनको छ ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले महासंघ कास्की उत्पादनमुखी पत्रकारिताको पक्षमा रहेको उल्लेख गरेका छन् । उनले पत्रकारिताको पेशालाई मर्यादित बनाउने पक्षमा आफू रहेको बताए । भण्डारीले आमसंचार विधेयक पत्रकारको हित अनुरुप नै आउनेमा आशावादी रहेको बताए । आमसंचार विधेयक फलदायी भएर आउनुपर्ने धारणा उनको छ ।
कार्यक्रममा प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघ केन्द्रकी सदस्य सरिता तिमिसिना पगेनी, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ केन्द्रका पूर्वउपाध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले बाेलेका थिए।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता छ । तालिम आगामी माघ ४ गते सम्म संचालन हुनेछ ।