“व्यवसाय र पर्यटन प्रवर्द्वनकाे लागि वाईयुके सुपरमार्केट”: युवराज खतिवडा

  • ख-
  • ख+

पोखरामा मिनि मार्केट सञ्चालकका रुपमा उदाउँदा व्यवसायी हुन् युवराज खतिवडा । पोखरा पृथ्वीचोकको ‘पोखरा सस्तो बजार’, सिद्धार्थ चोकको ‘फेवा एग्रिकल्चर प्रालि’ र पस्र्याङको ‘वाईयुके मिनिमर्केट’ खतिवडाले नै सञ्चालन गरेका हुन् । उनी एक समाजसेवी पनि हुन् । काेराेना कहरमा सरकारले लकडाउन गरेकाे अवस्थामा उनले धेरै मानिसहरुलाई गाँसवासकाे व्यवस्था गरे ।

धादिङ स्थायी घर भएका खतिवडा मिनि मार्केटकाे लामाे अनुभवबाट अहिले पाेखरा १८ लेकसाइड सेदिमा ठुलो प्रोजेक्टमा अत्याधुनिक व्यावसायिक मल वाईयुके सुपरमार्केट प्रा.लि. सञ्चालन गर्न लागेका हुन् । सुपरमार्केट १५ करोड रुपैयाँकाे लगानीमा २० वर्षका लागि १७ रोपनी जग्गा भाडामा लिएर बजार सञ्चालनमा ल्याउन लागेकाे खतिवडा बताउँछन् । जसलाई २०७९ को नयाँ बर्षका दिन नै बजार उद्घाटन गर्ने लक्ष्य राखिएको छ । साेहि विषयमा केन्द्रित रहेर सञ्चालक युवराज खतिवडासँग सिटिपाेखरा डट कमका संवाददाताले गरेकाे कुराकानी ।

वाईयुके सुपरमार्केटकाे अवधारणा कसरी आयाे ?

निम्न र मध्यम स्तरका ग्राहक लक्षित बजारमा सबै स्तरका सेवाग्राही सन्तुष्ट गराउने उद्देश्यले मैले वाईयुके सुपरमार्केटकाे अवधारणा ल्याएकाे हुँ । व्यवसायीहरुकाे नकरात्मक प्रतिस्पर्धाले मारका परेका सामान्य खालका व्यवसायीप्रति पनि याे मार्केट लक्षित गरिएकाे छ ।

यो बजारको प्रत्येक तलाबाट फेवातालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । अब लेकसाइडमा मात्र पर्यटक रोकिने अवस्था छैन । कोभिड भएर मात्रै, नत्र यतिबेला पामेसम्मैका रेष्टुरेन्ट होटलहरु भरिन्थे । अब सेदी, खपौदी, पामे नै आन्तरिक तथा बाह्य पर्यटकको हब हो । त्यसैले याे पर्यटक लक्षित पनि छ ।

यसरी भन्नुपर्दा समग्रमा व्यवसाय र पर्यटन प्रवर्द्वनकाे लागि सुपरमार्केटकाे अवधारणा ल्याईएकाे हाे ।

सुपरमार्केटका विशेषता के छन्, यहाँ कस्ताे खालकाे व्यापार व्यावसाय गर्न पाईन्छ?

लेकसाइडको सेदी, खपौदी, पामेसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर गेष्ट हाउसदेखिको सबै सामान एकै ठाउँमा पाउने गरी मार्केट सञ्चालनमा ल्याउन लागेको हो । यस बजारको मुख्य विशेषता नै सुलभ र सस्तो मुल्यमा सबै काम एक ठाउँ भन्ने छ । बजारमा सबै एक एक थरीका पसलहरु रहनेछन् । एक व्यवसायीलाई दिएपछि अर्को व्यवसायीलाई त्यहि प्रकृतिकाे व्यवसाय गर्न दिईने छैन् ।जुन प्रयोजनका लागि छुट्याएको सटर हो, त्यही व्यवसाय गर्नुपर्ने अनिवार्यता रहनेछ ।

यहाँ वैंक तथा वित्तिय संस्था, सहकारी, ट्राभल एजेन्सी,इञ्जिनियरिङ कन्सल्टेन्सी, मेडिकल, भेटनरी, फ्रेस हाउस, तरकारी, डिपार्टमेन्टल स्टोर्स, रेष्टुरेन्ट, फेन्सी, थान्का, थकाली भान्सा, ईलेक्ट्रिकल आइटम्स, मोबाइल, ग्रोसरी शप, ब्युटिपार्लर, स्पा, वाइन सप, सुन पसल, सहकारी, पार्टस तथा मेसिनरी पसल,  किराना पसल, दोहोरी साँझ, डिस्को, बार, पुल एण्ड गेम हाउस, जिम एण्ड फिटनेस, क्लिनिक, प्लाष्टिकका भाँडा पसल, फर्निचर शो रुम, होम डेकोर गरी नुनदेखि सुनसम्मका पसल हुनेछन् । साथै मार्केटभित्र ज्येष्ठ नागरिक कक्ष, बाल उद्यान, जीम हल, रनिङ ट्रयाक समेत हुनेछन् ।

अहिले व्यवसायीकाे लागि सुविधा के छ ?

मुख्य कुरा व्यवसाय गर्न दृढ संकल्प र निरन्तरता चाहिन्छ । जसले व्यवसाय गर्छु भनेर आउनुहुन्छ उहाँहरुकाे लागि आगामी वैशाख १ गतेसम्म भाडा छुट दिएकाे छु ।२०७९ वैशाख १ गतेदेखि भाडा लाग्ने हो । अहिले नै केही व्यवसायहरु सञ्चालन भइसकेको छ र उनीहरुले निःशुल्क रुपमा व्यवसाय सञ्चालन गरेका छन् । व्यवसायीकाे लागि बोरिङकाे पानी मार्केट हातामै तानिनेछ । यहाँका व्यवसायीलाई पानी शुल्क लाग्दैन । बिजुलीको मात्र तिरे पुग्छ । साथै व्यवसायी,ग्राहक सबैकाे लागि प्रशस्त पार्किङकाे सुविधा छ । भाडा महंगो नरहेको हुनाले ठाउँ अनुसार भाडा कायम गरिएको छ ।

पर्यटक लक्षित विशेषता तथा सुविधाहरु के छन् ?

हामीले पर्यटकलाई लक्षित गरि वान डे थ्रि डे म्युजियम आर्ट सञ्चानमा ल्याउँछाैं । जसमा हिमाल, पहाड र तराईका प्राकृतिक साैन्दर्य, माैलिक कलासंस्कृति एकै ठाउँबाट अवलाेकन गर्न सकिनेछ । देशका महत्वपुर्ण पर्यटकीय स्थानमा घुमेकाे अनुभव गर्न पाईने साथै याे बालबालिकाकाे लागि ज्ञानवर्द्वक रहेछन्। घुम्नकाे लागि पारिवारिक, प्राकृतिक तथा मनाेरन्जनात्मक वातावरण समेत रहेकाे छ भने खेलप्रेमीका लागि काठमाण्डाैकाे आर्चरी खेल हामीले सञ्चालन गर्छाै ।

साथै आन्तरिक तथा बाह्य पर्यटककाे बसाई लम्व्याउन मार्केटभित्र एक सय कोठाको गेष्टहाउस समेत रहनेछ । सेदी, खपौदी, पामेमा रमाईलो गरी राति फर्कनेहरुलाई लेकसाइड प्रहरीले चेकिङ गरी यता न उता बनाइदिन्छन् । त्यसैले त्यहाँ रमाईलो गर्नेहरु, जसलाई प्रहरीले बाटो छेक्छन् उनीहरु सुत्नकै लागि एक सय बेड क्षमताको आकर्षक रुमसहितको एक सय कोठाको गेष्ट हाउस हामी बनाउँदैछौं । जुन एकदमै सस्तो हुनेछ ।

एक सय वटा रुमको गेष्टहाउसमा एक रातको ५ सय रुपैंयामा कोठा उपलब्ध गराइनेछ । ५ वर्षलाई ५ सय, त्यसपछि १० वर्षसम्म ७ सय ५०, त्यसपछि १५ वर्षसम्म १ हजार गर्ने गरी अहिल्यै योजना बनाइएको छ । लेकसाइड क्षेत्रमा अबको ५ वर्षसम्म ५ सयमा सुत्ने कोठा पाउनु अत्यन्त सस्तो रहेको छ ।

निर्माण कार्य पनि जारी छ, व्यवसाय पनि चलिरहेका छन्, अहिलेसम्म कति सटरहरु बुुकिङ भए ?

चार वटा बिल्डिङको तिन तला रहने भवनमा कुल चार सय सटर रहनेछन् । जसमा ५ दर्जन हाराहारीमा व्यवसायी रहनेछन् । अहिले मेडिकल, स्टेशनरी, धराने सेकुवा, फ्रेस हाउस, फलफूल तरकारी, गेम हाउस र चाइनिज रेष्टुरेन्टको सटर बुक भइसकेको छ । जे हाेस अहिले नै आधाभन्दा बढि व्यवसायिक सटरहरु बुकिङ भइसकेका छन्।

अन्त्यमा केही भन्नु छ ?

हामीले व्यवसायीलाई व्यवसाय गर्ने मात्र साेच गरेका हाेईनाै, राेजगारी सिर्जना, दक्ष जनशक्ति उत्पादन र उत्पादनमुलक कार्यलाई पनि जाेड दिएका छाैँ । हामीले व्यवसायकाे व्यवसाय मात्र हैन, किसानकाे उत्पादनलाई पनि उत्तिकै महत्व दिन्छाैं । यहाँ मानिस धनी गरिव पैसाले हैन, कर्म र साेचले हुन्छ । मान्छेले कर्म गरेन भने र न्यून स्तरकाे साेचले गरिव हुन्छ, त्यसैले फराकिलाे साेचका साथ कर्म गर्न पछि नपर्नुहाेस । जसकाे उपयुक्त माध्यम बन्न सक्छ वाइयुके सुपरमार्केट । तपाई जाे काेहि व्यापार व्यवसाय गर्न इच्छुक हुनुहुन्छ, भने शान्त, सुन्दर र मनाेरम वातावरणमा व्यवसाय गर्नकाे लागि आउनुहाेस सटर बुक गर्नुहाेस र व्यवसाय शुरु गर्नुहाेस् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्