तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

  • ख-
  • ख+

पोखरा । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी मेडिकल कलेज अर्घौका बरिष्ठ फिजिसियन डा.सुखबहादुर गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बुद्धिराज गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए ।

उक्त अवसरमा थप्रेक स्वास्थ्य चौकी इन्चार्ज रियाज अन्सारीले रक्तचाप एवम् तौल परीक्षण गर्नुभयो भने अनमी वविता भट्टराई, अहेव वावुराम वाग्ले र उदय पगेनीले औषधी वितरणमा सहजीकरण गरेका थिए । उक्त शिविरमा १५० जनाको स्वास्थ्य परीक्षण गरिएको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण गरिएको उपशाखाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व कार्यबाहक सभापति डिल्लीराम अधिकारीले रेडक्रसका संस्थापक हेनरी ड्युनाले तत्कालीन समयमा लडाइमा परेका घाइतेको दयनीय अवस्था देखेर यो संस्था स्थापना गरेकोे स्मरण गरे ।

शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले ज्येष्ठ नागरिकका सेवाका लागि वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । चिकित्सकद्वय सुखबहादुर गुरुङ र बुद्धिराज गुरुङले जन्मभूमिमा आएर निशुल्क सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन इच्छुक रहेको उनले बताए ।

उपशाखाका अध्यक्ष समशेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद खनालले गरे भने स्वागत ममिता गुरुङले गरिन् । उक्त शिविरमा ग्यालेक्सी हस्पिटल प्रा.लि., एकड फर्मासिटिकल्स लिमिटेड, वेष्ट फर्मासिटिकल्स, समर फर्मासिटिकल्स, इन्डोकोमी फर्मासिटिकल्स, कोरेल फर्मासिटिकल्स, सानवी फर्मासिटिकल्स, ट्युमेड फर्मासिटिकल्स, सुमी फर्मासिटिकल्स लगायतले औषधी सहयोग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्