पोखरा २५ मा नेकपा एमालेको ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन,दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश

  • ख-
  • ख+

हेमजा । पोखरा २५ हेमजामा नेकपा एमालेको ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

आसन्न स्थानिय निर्वाचन २०७९ को अभियान र कम्युनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा एमालेको निर्वाचन परिचालन कमिटी गठन र कम्युनिष्ट जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुदमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य जगत विश्वकर्माले नजिकिदै गरेको स्थानिय तह निर्वाचनमा हाम्रो पार्टीको विजयी सुनिश्चित गराउनको लागि सबै जना सामूहिक रुपमा दृढ संकल्प गरेर लाग्नुपर्नेमा जोड दिए  । “पोखरा वडा नम्वर २५ हेमजामा जुन मिहनेतका साथ हाम्रा अग्रजले विकास गर्नुभयो, त्यो कृतिमान र विरासत कायम राख्नु हामी अहिलेको पुस्ताको मुख्य जिम्मेवारी हो । त्यसैले हामीले हाम्रो पार्टीका प्रस्तावित उम्मेदवार विजयी गराउनु भनेको पार्टीको विजय हो,पार्टीको जित सुनिश्चित गर्नका लागि हामी सबै एकजुट भएर लाग्नुको विकल्प छैन् ।“उनले भने–“हामीले अहिलेको गठबन्धनलाई जसरी पनि परास्त गर्नुपर्छ ।“

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सदस्य धर्मराज बास्तोलाले आजका मितीदेखि ३० गतेसम्म सबै कार्यकर्तालाई अहोरात्र खटेर आफ्ना मतदाता संरक्षण गर्न निर्देशन दिए । साथै प्रस्तावित ५ जना उम्मेदवारलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले केपी शर्मा ओली अध्यक्ष हुदा विश्वका विकसिल राष्ट्रमध्ये नेपाल १० औं स्थानमा पर्न सफल भएको र नेकपा एमालेले गरेका विकास निर्माणका काम उल्लेख गर्दै देश विकासमा एमाले बाहेक अर्को कुनै पार्टी विकल्पमा नभएको बताए ।
उनले पार्टीभित्रका अवसरवादी तत्वका कारण पार्टी साढे तिन वर्षमा सरकारबाट बाहिरीन परेको बताए  ।

त्यसैले अवको निर्वाचनमा ५ वर्षको लागि एमालेको सरकार सुनिश्चित हुने गरी जिताउन सबैमा अनुरोध गरे । न्यौपानेले गठबन्धन भनेको देश र जनताका लागि नभई आफ्ना मान्छे भर्ति गराउनको लागि भएकोले गठबन्धनलाई मत दिनु पछुताउनुकोे विकल्प नभएको बताए ।

कार्यक्रममा वडाका कम्युनिष्ट पार्टीका प्रेरणाका स्रोत,पार्टीमा अहोरात्र खटिएका, पार्टीमा त्याग गरेका जेष्ठ नागरिकहरु चित्रबहादुर कार्की (९० वर्ष), हरिमाया त्रिपाठी,होमबहादुर थापा, पदमलाल अधिकारी र ठाकुरप्रसाद भण्डारीलाई प्रमुख अतिथि विश्वकर्मा, प्रदेश कमिटी सदस्य धर्मराज बास्तोला, महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै चित्रबहादुर कार्कीले अहिलेसम्म हार्न नजानेको एमालेको अव पनि निश्चित रुपमा विजयी हुने विश्वास व्यक्त गरे । उनले पहिले बहुमत आएको ठाउँमा अव पुरै एमालेमय हुने उल्लेख गरे ।

अर्का सम्मानित व्यक्तित्व होमबहादुर थापाले पाँच दल निश्चित रुपमा हामी (नेकपा एमाले)सँग मिल्न आउने बताए । उनले घरका परिवार मिल्दैनन भने पाँच दल मिल्नेमा विश्वास नभएको ठोकुवा गरे।

कार्यक्रममा अध्यक्ष पदका प्रस्तावित उम्मेदवार तिर्थबहादुर थापा, सदस्य पदका उम्मेद्वार सुवास भण्डारी, कृष्णबहादुर कुवर, महिला सदस्य धना तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्माले परिचयसहित चुनावी प्रतिवद्वता घोषणा गरेका थिए ।
उनीहरुले युवा जोश, अग्रजको सल्लाहा अनुसार र वडा नम्वर २५ वासीको आवश्यकता र मागलाई पार्टीसँग समन्वय गरी सम्वोधन गरेर अगाडि बढ्ने बताए ।

अध्यक्षका प्रस्तावित उम्मेदवार थापाले २०७४ सालमा एमालेका निर्वाचित प्रतिनिधिले जारी गरेका प्रतिवद्धतामध्ये ८० प्रतिशत बढि काम पुरा भएको र बाँकी काम आफुहरुले पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दै थप विकासका काम गर्ने प्रतिद्धता व्यक्त गरे । साथै अवको पोखरा २५ को मुख्य एजेण्डा किसानको मुद्वा, आधुनिक प्रविधिमैत्री शिक्षा, महिलाका समस्या समाधान, युवा परिचालन, युवा स्वरोजगार सिर्जना, दलितमुखी कार्यक्रममा जोड दिईने बताए । उनले अब मतदाता सचेत भएर गठबन्धनको लोभ लालचमा नबहकिकन सुर्य चिन्हमा मतदान गर्न अनुरोध गरे ।

यसैगरी पार्टी प्रवेश कार्यक्रममा हरि पौडेलको नेतृत्वमा खिमबहादुर विश्वकर्मा आईतवहादुर विश्वकर्मा, रामकाजी विश्वकर्मा, बबिता परियार, सम्झना विश्वकर्मा, यानकुमारी विश्वकर्मा, कृष्णमाया परियार रञ्जित केसी लगायत दुई दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पोखरा २५ का वडा कमिटीका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपसचिव लक्ष्मण रोकाय र सञ्चालन कमिटीका सचिव देविप्रसाद अधिकारीले गरेको भन्ने कुराको जानकारी कार्यालय सचिव घनश्याम तिमिल्सिनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्