घरदैलोमा मादीका एमाले उम्मेद्वार

  • ख-
  • ख+

कास्कीको मादी गाउँपालिकामा नेकपा (एमाले)ले चुनावी घरदैलो अभियान सुरु गरेको छ । मादी–३ कुस्कु डाँडाबाट एमालेले घरदैलो अभियान सुरु गरेको हो ।मादी ३ याङ्जाकोट, मादी ४ घामलुङ (सृष्टि टोल)का वस्तीमा शुक्रबार घरदैलो गरिएको एमाले पालिका कमिटी सचिव सुवास सापकोटाले जानकारी दिए । गाउँपालिका अध्यक्ष उम्मेद्वार, शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारसहित एमालेका स्थानीय नेता–कार्यकर्ता घरघरै मत माग्न पुगेका हुन् ।


कुस्कु डाँडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेद्वार महेन्द्र गुरुङले सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्न आफू नेतृत्वको टोली सक्षम रहेको बताए । हालको पालिका सरकारले सुरु गरेको कामलाई पुरा गर्ने उनको प्रतिबद्धता छ । ‘हिजो गाउँका गोरेटो बाटोमा भिरपाखामा लडेर हिँड्नुभयो । आज त्यहाँ मोटर माटो खोलिएको छ । त्यो बाटोलाई स्तरोन्नति गर्छु,’ उनले भने ।
आफूले खेलकुद विकास समितिमा बसेर काम गरेको बताउँदै उनले खेलकुद पूर्वाधार विकास पनि आफ्नो प्राथमिकता भएको सुनाए । मादीमा ४० लाख रुपैयाँ लागतमा रंगशाला बनाउन बजेट छुट्याए पनि प्रदेश सरकार फेरिएसँगै बजेट काटिएको उनको भनाइ थियो । उनले कृषिमा परम्परागत शैली नभई नयाँ प्रविधिको प्रयोग गर्ने बताए । ‘हामी वर्षमा तीन खेती मकै, कोदो र धान लगाउँछौँ । यहाँको माटोको परीक्षण गरेर वर्षमा हुन सक्ने खेती अध्ययन गर्छौँ,’ अध्यक्ष उम्मेद्वार गुरुङले भने, ‘वर्षमा पाँच थरी खेती गर्न सकिने गरी हाइब्रिड बिरुवा दिन्छौँ । यसले आम्दानी पनि हुन्छ ।’


उपाध्यक्ष उम्मेद्वार कल्पनाले आफूहरु भोट माग्नमात्रै नभई जितेर गएपछि पनि जनताको समस्या बुझ्न वस्तीवस्ती आउने बताइन् । पालिका ठूलो भएको र पिछ्डिएका वडा र वर्गलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाइन् ।
गाउँपालिका अध्यक्ष वेदप्रसाद गुरुङले असहज परिस्थितिमा पनि आफूले गरेको काम जनताले मूल्यांकन गरेकाले फेरि एमालेले जित्ने दाबी गरे । कोरोना महामारीले गर्दा पुरा गर्न खोजेका काम हुन नसकेकोमा माफी मागे । ‘म नेतृत्वको टिमको दुई वर्ष कोरोना महामारीले असहज भयो । अहिले युवा जोस गाउँपालिका हाँक्न आएको छ । यो जोसमा अझ उत्साह थप्नपर्छ,’ गुरुङले भने ।
मादी ३ का वडाध्यक्ष उम्मेद्वार जेमप्रसाद गुरुङले खानेपानी पुग्न बाँकी रहेका घरघरमा पानी पु¥याउने वाचा गरे । त्यस्तै पालिकाभित्रका मूल सडक कालोपत्रे गर्न पहल गर्ने बताए । ‘पहिला थोरै मतले हाम्रो वडामा एमाले पछि प¥यो । यसपटक जित्ने गरी लागेका छौँ,’ उनले भने, ‘हाम्रो नेतृत्व नहुँदा वडामा स्थानीयले खोजेजस्तो काम हुन सकेन । एकपटक अवसर पाए काम गरेर देखाउँछौँ ।’

शनिबार मादी ९ मा घरदैलो अभियान गरिने पार्टी पालिका कमिटीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्