सिक्लेसमा तीन गुणा पर्यटक बढ्ने योजना ल्याउँछौँ – महेन्द्र

  • ख-
  • ख+

पोखरा । कास्कीको मादी गाउँपालिकामै धेरै जनसंख्या भएको गाउँ हो, सिक्लेस । मतदाताको हिसाबले गाउँकै ठूलो वडा मादी १ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा दलहरु चुनाव केन्द्रीत गतिविधिमा व्यस्त छन् ।

आफ्ना प्रतिबद्धता सुनाउन नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)र उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङसहितको टिम बिहीबार २२ सय हारहारी मतदाता रहेको मादी–१ पुगेको छ । उनीहरुले बिहीबार मादी १ सिक्लेस र खिलुङमा चुनावी सभा गरेका छन् ।


सिक्लेसमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष उम्मेद्वार महेन्द्रले अहिलेभन्दा तीन गुणा बढी पर्यटक आउने खालको योजना बनाउने प्रतिबद्धता जनाए । पर्यटक बढेपछि पाखामा वस्ती विस्तार गर्नुपर्ने अवस्था आउने उनले दाबी गरे । ‘अहिले जति पर्यटक सिक्लेन आउँछन् त्योभन्दा तीन गुणा बढी पर्यटक आउने योजना ल्याउँछौँ । पर्यटक बढेपछि यहाँका वन पाखामा बस्ती बढाउने अवस्था आउँछ,’ उनले भने, ‘चुनाव जिताएपछि तपाईंहरु वस्ती बढाउन लाग्नुहोस् । पर्यटक भित्र्याउने काम म नेतृत्वको पालिकाले गर्छ ।’


लमजुङको घलेगाउँ र स्याङ्जाको सिरुवारी होमस्टे जत्तिकै सिक्लेसका होमस्टेलाई बनाउन पहल गर्ने महेन्द्रको प्रतिबद्धता छ । खप्तडदेखि सोलोखुम्बुसम्मका पर्यटन व्यवसायीसँग सिक्लेसबारे भएका भिजन सुनेर अघि बढ्ने उनले बताए । पाहुनालाई स्थानीय उत्पादन खुवाउनेलाई पालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । सिक्लेसमा घर बनाउन पालिकाले मापदण्ड बनाउने उनले बताए ।


एमाले कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङले एमाले नै देश बनाउने पार्टी भएकाले सूर्य चिन्हमा मत हाल्न सिक्लेसीलाई आग्रह गरे । ‘बा कुन पार्टीमा लागे भनेर त्यतै लाग्ने कि देशको भविष्य कसले बनाउँछ भनेर लाग्ने ? यो रोज्ने जिम्मा तपाईंहरुको हातमा छ,’ उनले भने, ‘फैसला गर्ने अधिकार जनतालाई छ । सही न्याय दिनुहोस् । पुल बनाउनेलाई मत दिने कि पुल बनाउँदा आलोचना गर्नेलाई ?’


उनले गाउँमा लाख पर्यटक ल्याउने योजना एमालेसँग भएको बताए । ‘सिक्लेसमा धेरै योजना ल्याउने पार्टी कुन हो ? एमाले होइन ? अब एक÷दुई हजार पर्यटक ल्याएर हुँदैन,’ अध्यक्ष गुरुङले भने, ‘लाख पर्यटक ल्याउने सपना हामीले बोकेका छौँ । सिक्लेसबाट कोरीसम्म केबलकार बनाउन सक्दा सिक्लेस कस्तो होला ? पार्चे कस्तो विकास होला ?’ अध्यक्ष गुरुङले एमाले उम्मेद्वारले चुनाव जिते सिक्लेस–पोखरा यात्रालाई एक घण्टाको बनाउने दाबी गरे । ग्रामीण सडक भएकाले अहिले पोखराबाट सिक्लेस पुग्न पाँच घण्टा लाग्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्