पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रुपमा विकास गर्नेछौं : धनराज आचार्य

  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार पोखरा ९ को चुनावी आम सभामा बोल्दै उनले गठबन्धन सरकारले जितेको दुई वर्ष भित्र नै सिटी बसपार्क बनाउने बताएका हुन् ।
उनले पोखरा महानगरपालिकालाई सुव्यवस्थित महानगर बनाउँदै पोखरा ९ मा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको बताए । उनले पोखराको ल्याण्डफिल साइडको व्यवस्थापन गरी अन्तराष्ट्रिय विमानस्थललाई चाँडो संचालन गर्न पहल गर्ने बताए । उनले भने, “पोखराको फोहोर व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । ल्याण्डफिल साइडको उचित व्यवस्थापन गर्न सकिएन भने अन्तराष्ट्रिय विमानस्थल चल्दैन । विमानस्थल नचल्दा हामी ऋणमा पर्छौं । त्यसैले यसको शिघ्र संचालनमा जोड दिनेछौं ।’
उनले पोखरा ९ मा अव्यवस्थित रुपमा बसेका नागरिकलाई हिजोको सरकारले लालपुर्जाको कथा सुनाए पनि व्यवस्थापन गर्न नसकेको आरोप लगाए । गठबन्धनको सरकारलाई महानगरमा जिताउँदा सो समस्या टर्ने गरी काम गर्ने प्रतिबद्धता उनको छ । उनले भने,“अव्यविस्थत बसोबासलाई व्यवस्थित गर्न उच्च भूमि सुधार आयोगसँग समन्वय गरी समस्याको समाधान गरिनेछ । लालपुर्जाको कथालाई हामी पुरा गर्नेछौं । मत दिएर विजय बनाइदिनुहोस् ।”
बसपार्कको जग्गा बसपार्कलाई नै दिने र मुआब्जा दिएर वा सट्टा पट्टि गरेर व्यवस्थित गरिने भनाई उनको छ ।
पोखरा आसपासका गाउँमा बस्ने नागरिकलाई घरबाटै आउन जान सुविधा हुनेगरी बसको व्यवस्था गरिने भनाई उनको छ । गठबन्धनको सरकार आएमा डाँडाकाँडामा बसोबास गर्नेहरु पोखरामा डेरा गरेर बस्नुपर्ने स्थिति नआउने उनले बताए ।
शिक्षा,स्वास्थ्य,खेलकुद र पर्यटनको क्षेत्रमा अहिलेसम्म नभएका कामहरु गर्दै गठबन्धन सरकार अगाडि बढ्ने प्रतिबद्धता उनको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्