पाेखरा महानगरकाे एक्लाे महिला वडाध्यक्ष,पाेखरा १७ मा राधिका शाही (फाेटाे फिचर)

  • ख-
  • ख+

पाेखरा ।
नेकपा एमाले नेतृ राधिका कुमारी शाही पोखरा महानगरपालिकाको एक्लो महिला वडाध्यक्ष बनेकी छन् । नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतले हराएर उनी पोखरा–१७ को वडाध्यक्ष निर्वाचित भएकी हुन् ।

राधिकाले २६ सय २५ मत ल्याउँदा देवराजले २५ सय ४२ मत पाएका छन् । माओवादी केन्द्रका ओमबहादुर पौडेलले ५ सय ७३ र राप्रपाका धनविक्रम मल्लले ३ सय ३७ मत पाए । उक्त वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार पोखराका ९ वटा वडामा ११ जना महिला वडाध्यक्षका उम्मेदवार थिए । यसअघि राधिका सोही वडाको वडा सदस्य र महानगर कार्यपालिका सदस्य थिइन् ।

राधिका पोखरा १७ मा स्वास्थ्य स्वयंसेविका भएर काम गरेकी थिइन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा जन्मिएकी राधिकाको कर्मक्षेत्र पोखरा हो । उनी पोखराका एमाले नेतृमध्ये निकै सक्रिय राजनीतिज्ञमा पर्छिन् । राधिका एमाले कास्की जिल्ला कमिटी सदस्य पनि हुन् ।

पोखरामा एमालेले राधिकासहित दुई जना वडाको वडाध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । पोखरा १० मा उम्मेदवार रहेकी पवित्रा गुरुङ भने पराजित भएकी छन् । कांग्रेसले पनि पोखरा १ र ८ मा वडाध्यक्षमा महिला उम्मेदवार उठाएको थियो ।

पोखरा १७ मा राधिका, पोखरा १ मा नेपाली कांग्रेसकी सीता गुरुङ, पोखरा २ मा माओवादी केन्द्रकी अञ्जु विश्वकर्मा, पोखरा ८ मा नेपाली कांग्रेसकी शारदा गिरी र उन्नत लोकतन्त्र पार्टीकी सरिता कुँवर, पोखरा १० मा नेकपा एमालेकी पवित्रादेवी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनकी नृमती बुढाथोकी, पोखरा १४ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीकी सीतादेवी क्षेत्री, पोखरा १८ मा स्वतन्त्र पुर्ना खड्का विश्वकर्मा, पोखरा २२ मा जसपाकी सरिता क्षेत्री र पोखरा ३२ मा स्वतन्त्र निरुता विक उम्मेदवार थिए ।

फाेटाे साैजन्य :- तिर्थ के सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्