सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’शुरु, “उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई मेला उपयोगी”

  • ख-
  • ख+

       

पोखरा।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ शुरु भएको छ । आज शुक्रवार पोखराको सभागृहमा शुरु भएको शैक्षिक मेला भोलि शनिवार पनि चल्नेछ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन आयोजित मेलाको उद्घाटन गर्दै मेलाका प्रमुख अतिथि पियरसन÷पिटीईका विजनेश डेपलभमेन्ट कन्सल्टेन्ट सुमनकृष्ण श्रेष्ठले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा इक्यानको जिम्मेवार भूमिका प्रसंशनीय भएको बताए । उनले मेलाबाट धेरै भन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

श्रेष्ठले ‘पीटीई’ (पियरसन टेस्ट अफ इंग्लिस) आप्रवासी र विदेशमा अध्ययन गर्न चाहनेहरुका लागि एक विदेशी कम्प्यूटरमा आधारित अंग्रेजी परीक्षा भएकाले ‘पीटीई’मा सहभागि हरेक विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाउनुका साथै विदेशमा अवसरहरु सिर्जना गर्न सहयोग पु¥याउने आफूहरुको उद्देश्य रहेको बताउँदै पोखरामा पनि छिट्टै नै ‘पीटीई’ सेन्टर खोल्ने तयारी रहेको जानकारी दिए ।

विशेष अतिथि इक्यानका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डेले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई यस्ता खालका मेला निकै उपयोगी हुने बताए । उनले भने, ‘अहिले उच्च शिक्षा आर्जन गर्न नेपाली विद्यार्थीहरु विदेश जाने संख्या बढेको छ, यस्तो अवस्थामा एकै थलोबाट सबै खाले जानकारी उपलब्ध हुँदा विद्यार्थीले चौतर्फी भौँतारिनु पर्दैन र सहि परामर्श दाताबाट आधिकारिक सूचना पाउने उपयुक्त स्थान भनेको इक्यान मेला नै हो ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन प्रजापतिले मेलाको सफलताको कामना गदै उच्च शिक्षाका लागि सहि मार्गनिर्देश गर्ने माध्यम शैक्षिक मेला भएकोले आगामी दिनमा पनि मेलालाई निरन्तरता दिन सुझाव दिए ।

भाषा संघ नेपालका अध्यक्ष पूर्ण न्यौपानेले मेला अवलोकन गर्न आएका विद्यार्थीहरुलाई लक्षित गर्दै उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर त्यहाँ सिकेको सीप उपयोग गर्न आग्रह गरे । साथै इक्यानसँग भाषा संघ नेपाल सहकार्य गर्न सधैं तयार भएको बताए ।

मेलाको टाईटल स्पोन्सर इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्सका म्यानेजिङ डाइरेक्टर समीर थापा मगरले यस्ता खालको शैक्षिक मेला नयाँ पिढीको लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे । नीजि परामर्श दातृ संस्थाहरुको छाता संगठन इक्यान कास्कीले शैक्षिक गतिविधिलाई बढाउन गरेको अभ्यास सुखद रहेको उनको भनाई छ ।

मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले कार्यक्रममा स्वागत गर्दै मेलाको उद्देश्यबारे जानकारी गराए ।

उनले शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति,रहनसहन, वातावरण,समाज सम्वन्धित कलेजहरु तथा विश्वविद्यालयमा लाग्ने शिक्षण शुल्क, स्वास्थ्य विमा, अध्यागमन शुल्क आदिको वारेमा अध्यावाधिक र आधिकारिक परामर्श लिने थलोको रुपमा इक्यान शैक्षिक मेला प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे ।

उनले अव विदेश अध्ययन गर्न मात्र जाने नभई स्टडी इन नेपाल भनेर चिनाउनको लागि पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्वर १० को वडा सदस्यमा निर्वाचित भएकोमा इक्यानका सदस्य पूर्ण न्यौपानेलाई सम्मान गरिएको थियो ।
इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचीव सन्तोष शाहीले गरेका थिए ।

मेलाको पहिलो दिन उल्लेख्य सहभागिता

इक्यान शैक्षिक मेलाको पहिलो दिन मेला अवलोकन तथा परामर्शका लागि विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको प्रचारप्रचार संयोजक कमलनाथ बरालले जानकारी दिए । उनले आज उद्घाटन भएकोले आज भन्दा भोलि शनिवार मेलामा विद्यार्थी तथा अभिभावकको संख्या बढ्ने विश्वास रहेको बताए ।

मेलामा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन आयोजना गरिएको मेलामा विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीति, त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति तथा सहुलियत, सुविधा एवं गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच लगायत विविध विषयमा आधिकारिक जानकारी दिईएको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी भएको मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुले करिव ४० स्टलबाट निःशुल्क रुपमा आधिकारिक तथा प्रभावकारी सूचना एवं परामर्श दिएका छन् ।

पियरसन (पिटीई) को प्रस्तुतिमा आयोजित मेलाको टाईटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्स, एसोसियट स्पोन्सरमा रेन्सफोर्ड कलेज अस्ट्रेलिया, मुख्य प्रयोजकमा आईइडियु गु्रप अष्ट्रेलियाले साथ दिएको छ भने मेलाको सर्पोटेड बाईमा भिक्टोरियन एन्सिच्यूड अफ एजुकेशन र व्लु लोटस, बैंकिङ पार्टनरमा ग्लोवल आईएमई बैंक र होटल पार्टनरमा कुटी रिर्साेट लेकसाइड रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्