सातौं इक्यान शैक्षिक मेला सम्पन्न,मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता

  • ख-
  • ख+

बालकुमारी पौडेल/पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा पोखरा सभागृहमा सञ्चालित सातौं इक्यान शैक्षिक मेला शनिवार सकिएको छ ।

उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजिना गरिएको दुई दिनको मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता भएको इक्यान कास्कीले जानकारी दिएको छ ।

मेलामा परामर्श लिन आएकी अनु राणाले मेलामा शिक्षण संस्थाबारे एकै ठाउँमा धेरै जानकारी प्राप्त गर्न सजिलो भएको बताईन् ।

‘कुन कलेज पढ्ने, कुन विषय रोज्ने, शुल्क कति लाग्छ, छात्रवृत्तिको व्यवस्था के छ भनेर बुझ्न पाइयो,’ मेलामा आएका अर्का अवलोकनकर्ता सन्देश गुरुङले भने, ‘एकै ठाउँमा यति धेरै शिक्षण संस्थाबारे बुझ्न पाउँदा समयको बचत भएको छ, सबै कलेजमा पुगेर बुझ्न सम्भव पनि हुँदैन ।’

मेलामा आउने विद्यार्थीलाई शिक्षण संस्था सञ्चालक, शिक्षक, स्वयंसेवक र त्यहाँ अध्ययनरत विद्यार्थीले निःशुल्क परामर्श दिएका थिए ।

मेलामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई विभिन्न देशका शिक्षण पद्धति, त्यहाँको शैक्षिक वातावरण र अध्ययन संस्थाका बारेमा जानकारी गराइएको मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

व्यवसायिक प्रवद्र्धन र विद्यार्थी अविभावकले पाउनुपर्ने सूचना एकीकृत ढंगले प्रदान गर्न मेला सफल भएको इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले बताए ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका ४० शैक्षिक परामर्श कक्ष थिए भने विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको प्रचारप्रसार संयोजक कमलनाथ बरालले बताए । बरालले भने ‘आज विद्यार्थीहरुको उत्साहजनक सहभागिता रह्यो । शनिवार विहानदेखि पानी परेकोले पनि शुरुमा अवलोकनकर्ता कम नै थिए । तर, समापन हुनै लाग्दा साँझपख भने अवलोकनकर्ताहरुको चाप बढेको होे ।’

नेपालबाट विशेष गरी भारत, अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, न्युजिल्यान्ड, बेलायतका साथै युरोप महादेशका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गर्छन् ।

पियरसन (पिटीई) को प्रस्तुतिमा आयोजित मेलाको टाइटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्स, एसोसियट स्पोन्सरमा रेन्सफोर्ड कलेज अस्ट्रेलिया, मुख्य प्रयोजकमा आईइडियु ग्रुप अष्ट्रेलिया, मेलाको सर्पोटेड बाईमा भिक्टोरियन एन्सिच्यूड अफ एजुकेशन र व्लु लोटस, बैंकिङ पार्टनरमा ग्लोवल आईएमई बैंक र होटल पार्टनरमा कुटी रिर्साेट लेकसाइडले साथ दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्