‘कोरोनाले पाठ सिकायो, आउँदो बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छौं’

  • ख-
  • ख+

कोरोना संक्रमणको हिसाबले गण्डकी प्रदेश अहिले ‘ग्रीन जोन’ मा छ । तर छिमेकी प्रदेशमा संक्रमित भेटिनाले अझै ढुक्क हुने अवस्था छैन । विदेशबाट आएका २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । संक्रमणको जोखिम कम भए पनि प्रदेश भित्रिने सबै नाकामा कडाइ गरिएको छ ।

कोरोना देखिएपछि प्रदेश सरकारले हालसम्म गरेका काम र यसबाट प्रदेश सरकारले के के सिक्यो लगायतका विषयमा केन्द्रित रहेर अनुप पौडेलले गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ मन्त्री पुनसँग गरिएको कुराकानी :

प्रदेश सरकारले कोरोना रोकथामका लागि अहिलेसम्म के–के गर्‍यो ? र, आगामी दिनका योजना के छन् ?

हामीले जनचेतनामूलक अभियान चलाउने, भोलि महामारी भइहाले कसरी अगाडि बढ्ने र स्वास्थ्यकर्मीलाई तालिम दिने काम गरेका छौं ।बिहानैमा नमुना संकलन गरियो भने सोहि दिन नतिजा दिनसक्ने गरी कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सफल भयौं ।

अतिविपन्न नागरिक लकडाउनका कारण भोकै बस्न नपरोस् भनेर राहत वितरणका लागि पालिकालाई बजेट दिएका छौं ।कोरोना परीक्षण गरिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६० लाख व्यवस्था गरेका छौं ।प्रदेशका सबै जिल्ला अस्पतालमा आइसियु बेड स्थापना गर्न १४ करोड बजेट छुट्याउने निर्णय गरिएको छ ।

सरकारले लकडाउन घोषणा गर्दा नागरिकहरु केही भएपनि कोरोना भयो भन्ने डरमा हुनुहुन्थ्यो । त्यसलाई मध्यनजर गर्दै घरमै बसेर स्वास्थ्य परामर्श दिनका लागि चिकित्सक खटाएर हेलो डाक्टरहटलाइन सञ्चालन गरेका छौं । झन्डै साढे ७ सय जनाले त्यसबाट स्वास्थ्य परामर्श लिनुभएको छ ।

छुट्टै कर्मचारी व्यवस्थापन गरेर इमरजेन्सी पर्दा तुरुन्त उद्दार गर्न यसलाई निरन्तरता दिने तयारी भइरहेको छ । यसबाहेक प्रदेश सरकारले अहिले स्वास्थ्य एप पनि सञ्चालनमा ल्याएको छ । प्रदेशमा छुट्टै सरुवा रोग अस्पताल बनाउनपर्छ भनेर शिशुवाको लायन्स सामुदायिक अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने गरी छलफल भइरहेको छ ।

जोखिमको हिसाबले हामी कुन अवस्थामा छौं ? छिमेकी प्रदेशमा कोरोनाका बिरामी भेटिन भर्खर सुरु भएको छ । त्यसले गर्दा ढुक्क हुने अवस्था छैन नि ।

अहिले हामी सुरक्षित छौं । २ जना संक्रमित निको भएर घर फर्किसक्नु भएको छ । उहाँहरुसँग सम्पर्कमा आउनुभएका कसैलाई पनि संक्रमण नदेखिनुले सुरक्षित रहेको स्पष्ट हुन्छ । तर छिमेकी प्रदेशमा संक्रमण भेटिएकालेथप सतर्कता अपनाउनु आवश्यक छ।

सबै सीमा नाकामा अझै कडाइ गर्ने हो भने संक्रमणको जोखिम हुँदैन ।संक्रमण फैलन नदिन गण्डकी प्रदेश सरकारले कुनै कसर बाँकी राखेको छैन । आफ्ना नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकार प्रतिबद्ध छ ।

कोरोनाले कस्तो रुप लिन्छ भन्ने थाहा छैन । रोगले महामारीको रुप लिए उपचार गर्न प्रदेशभित्रका अस्पतालको स्थिति कस्तो छ ?

संघीयतामा भर्खर प्रवेश गरेकाले धेरै कुरा मिल्न बाँकी छन् । अहिले हाम्रा जिल्ला अस्पतालमा स्वास्थ्य जनशक्ति असाध्यै कम छन् । कोरोनाले गर्दा प्रदेश सरकारको ध्यान स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्नेमा गएको छ ।

प्रदेश सरकारसँग पोखरामा आफ्नै भनेको मातृशिशु अस्पताल मात्र हो । त्यो बच्चा र आमाका लागि मात्र हो । ढुक्क भएर उपचार गर्नका लागि लायन्स अस्पताललाई १ सय बेड क्षमतामा विस्तार गर्ने योजना छ । व्यवस्थापन गर्नुपर्ने पक्ष धेरै छन् र त्यसका लागि अबको बजेटमा हामीले स्वास्थ्य कोष खडा गर्नुपर्ने छ ।

कोरोना भाइरसले गर्दा सबैको चेतनामा फरक आएको छ । हिजो स्वास्थ्यलाई कसरी हेरिन्थ्यो र अब कसरी अगाडि बढिन्छ भन्ने कुरा प्रदेश सरकारको आ.व २०७७/७८ को बजेटबाट थाहा हुन्छ ।

आउँदो वर्षमा गत वर्षभन्दा स्वास्थ्य क्षेत्रलाई अझ प्राथमिकता दिएरबजेट विनियोजन गर्छौं । स्वास्थ्य क्षेत्र हिजोजस्तो थियो अब भोलि त्यस्तो रहने छैन । केही न केही सकरात्मक परिवर्तन हुन्छ ।

कोरोना विरुद्दको अभियानमा प्रदेश सरकारले केन्द्रसँग के–के अपेक्षा गरेको थियो ?

केन्द्र सरकारसँग स्वास्थ्य सामग्री पाइन्छ भन्ने आशा थियो । केन्द्र सरकारले रिएजेन्ट, पिपिई र परीक्षणका लागि मेसिन पठाइदिएको छ । केन्द्र सरकारले दिन्छ भनेर आश गर्नुभन्दा प्रदेश सरकारले आफ्नै बजेटबाट पनि किन्नुपर्छ भनेर लागेका छौं ।

केन्द्र सरकारले विभिन्न १५ शीर्षकसहितको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनको मापदण्ड बनाएको छ । प्रदेशमा बनेका क्वारेन्टाइन मापदण्डअनुसारका छन् ?

रोग भित्रिन दिनु हुँदैन भन्ने हिसाबले हतारमा क्वारेन्टाइन बनायौं । त्यसले गर्दा ठ्याक्कै मापदण्ड पूरा नभएको हुनसक्छ । सबै ठाउँमा मापदण्ड पुर्‍याउन सकेका छैनौं नि ।

तोकिएको मापदण्ड सबै पूरा गर्न हामीसँग आर्थिक हैसियत पनि छैन । हाम्रा आवश्यकता एकातिर र आर्थिक हैसियत अर्कोतिर छ । तर केही मापदण्ड तलमाथि भएपनि सकेको गरेका छौं ।

अन्त्यमा, वर्तमान परिस्थितिमा जनताले बुझ्नुपर्ने कुराहरु के–के छन् ?

जनताले कोरोनाका सन्दर्भमा धेरै बुझिसक्नुभयो । जनताले सरकारले भनेको कुरा मानेर कोरोना नियन्त्रणका लागि जनताले सक्दो सहयोग गर्नुभयो । सरकारले भनेको कुरा नमानेको भए सायद आज नेपालको अवस्था अमेरिकाजस्तै हुन्थ्यो ।

अहिले हामी सुरक्षीत जोनमा छौं । तर लकडाउनका बेला कति नागरिक गण्डकी प्रदेशमा आउनुभएको छ । आफ्नै घरबाट आएको भए त्यस्तो डर भएन । संक्रमण भेटिएको ठाउँमा डुलेर आएको भए गाह्रो पर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्