गण्डकी प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन, दुई सय बढी खेलाडीलाई ‘डाईट’ वितरण

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदको नवनिर्मित प्रशासनिक भवनको आइतबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको झण्डै एक करोड रुपैयाँको लगानीमा निर्माण भएको उक्त भवनको प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।

उक्त भवन निर्माण सम्पन्न गर्न करिव ९६ लाख लागत लागेको गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्त समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रमहरु सूचारु गर्न सहज हुने बताए ।

यसका साथै पोखरा रंगशालामा मन्त्री गुरुङको नेतृत्वमा मन्त्रालय र परिषद्को पहलमा विभिन्न पूर्वाधारहरु निर्माण भईरहेको सदस्य सचिव गुरुङले जानकारी दिए । उनले भने, ‘मन्त्रीज्यूको नेतृत्वमा, मन्त्रालयको पहल र परिषद्को सहकार्यमा टेनिस, स्क्वायस, बक्सिङ, टेवल टेनिसका पूर्वाभर, बक्ति जडान, सार्वजनिक शौचालय निर्माण लगायतका संरचनाको निर्माण गरिएको छ ।’

कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले मोदी गाउँ पालिकाका अध्यक्ष हिरा देवी शर्मालाई नगद ५ लाख पुरस्कार सहित सम्मान गरेका थिए । गण्डकी प्रदेशबाट यूवा मैत्री स्थानिय तह प्रोत्सहान कार्यक्रम २०७८ बाट ८५ वटा गाउँ पालिका मध्ये मोदी गाउँ पालिका उत्कृष्ट हुन सफल भए पछि सम्मान गरिएको हो ।

झण्डै २ सय खेलाडीलाई ‘डाईट’ वितरण :
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि शुरु हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई सय बढी खेलाडीलाई पोषणयुक्त खानेकुरा‘डाईट’ वितरण गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडीलाई पोखरामा नै उत्पादन हुँदै आएको पोषणयुक्त सातु, हर्लिक्स र वर्नभिटा वितरण गरिएको हो ।

कार्यक्रममा मन्त्री गुरुङ, मोदी गाउँ पालिकाका अध्यक्ष शर्मा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल लगायतले खेलाडीहरुलाई पौष्टिक आहार वितरण गरेका थिए ।

परिषद्ले प्रतिकात्मक रुपमा ३६ वटै खेलसंघका दुई सय बढी खेलाडीहरुलाई उक्त ‘डाईट’ वितरण गरेको सदस्यसचिव गुरुङले जानकारी दिए । उनले भने, ‘नवौं राष्ट्रिय खेलकुद नजिकिँदै गरेको सन्दर्भ जोडेर खेलाडीहरुलाई पोखराकै प्रोडक्ट पोषिलो सातु, वर्नभिटा, हर्लिक्स लगायतका सामाग्री वितरण गरेका छौं । अहिले प्रतिकात्मक हिसावले ३६ वटा संघका ५–५ जना खेलाडीलाई वितरण गरिएपनि बन्द प्रशिक्षणका क्रममा प्रदेशबाट सहभागी सबै खेलाडीलाई वितरण गरिने छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्