नवौं राष्ट्रिय खेलकुद :पोखरा महानगरपालिकाले पदक विजेतालाई नगदसहित सम्मान गर्ने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिले बुधबार आयोजना गरेको खेलाडी विदाई कार्यक्रममा महानगरका प्रमुख धनराज आचार्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने पोखरा महानगरका सबै खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

आचार्यले इन्डिभिजुअल खेलतर्फ स्वर्ण पदक बिजेता खेलाडीलाई १५ हजार, रजत पदक बिजेता खेलाडीलाई १० हजार र काश्य पदक बिजेता खेलाडीलाई ५ हजारसहित सम्मान पत्र प्रदान गर्ने बताए । उनले कुनैपनि समूह खेलतर्फ बिजेतालाई नगद ५/५ हजार महानगरका तर्फबाट प्रदान गरिने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख आचार्यले खेलाडीहरुलाई विदाई गर्दै नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुन पाउनु गौरवको विषय रहेको बताए । उनले पोखरा महानगरवासीलाई एकतावद्ध भएर खेलाडीलाई हौसला बढाउन आग्रह गरे । उनले भने–“निर्वाचन नजिकिंदै छ, त्यो आफ्नो ठाउँमा छ । तर त्यो भन्दा पनि ठूलो नवौं राष्ट्रिय हाम्रो सामु छ । प्रतियोगिता सफल बनाउने संगै पदक जितेर पोखरा र गण्डकीको शान बढाउन म आग्रह गर्दछु ।”

कार्यक्रममा पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले खेलाडीहरुलाई जितको शुभकामना दिंदै गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी जितेर पोखरामै राख्नेगरी खेल्न आग्रह गरिन् । ‘यो हाम्रो लागि ठूलो अवसर हो । नवौं राष्ट्रियको ट्रफी हामीले नगर परिक्रममा गरी स्वागत गरेका छौं । अव प्रतियोगिता जितेर ट्रफी हाम्रो प्रदेशमा राख्ने गरी खेलाडीले प्रदर्शन गर्नुपर्छ’–उनले भनिन् ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आचार्य र उपप्रमुख गुरुङले खेलाडीहरुलाई खादा लगाएर विदाई गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्