पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । ‘हरेकजसो प्रतियोगितामा पुलिस वा आर्मीसँग नै फाइनलमा भिड्थ्यौं । आर्मीको खेल नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौं ।’

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।
बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कांस्य हात पा¥यो ।

प्रतियोगिताका अधिकांश खेल ३–० मै टुंगिएका थिए । प्रतियोगिताअवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

#नवौं राष्ट्रिय खेलकुद २०७९#

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्