घट्टेखोला–धम्पुस सडक कालोपत्र गर्ने एमाले उम्मेदवारद्धय दामोदर र गणेशमानकोे प्रतिवद्धता,धितालमा होमस्टे प्रवद्र्धन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेकपा एमालेका कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क) का उम्मेदवार गणेशमान गुरुङले चुनाव जितेपछि घट्टेखोलाबाट धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् ।

चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस पुगेका उम्मेदवारद्धयसँग मतदाताले पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि गाउँसम्मको बाटो कालोपत्र गर्न आवश्यक रहेको बताएका थिए ।

त्यसमा उम्मेदवारद्धय वैरागी र गुरुङले आफुहरुले जितेर गएपछि उक्त काम पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘यहाँबाट पढ्न, जागिर गर्न पोखरा जानेहरू हुनुहुन्छ । उहाँहरुलाई त दुरी जति कम भयो त्यति सहज हुन्छ मैले बुझेको छु ।’ प्रतिनिधि सभा उम्मेदवार वैरागीले भने–‘पर्यटक आउजाउ गर्न, गाउँकै मान्छे बजार आउजाउ गर्न, यहाँको उत्पादन पुर्याउन पनि सहज हुन्छ थाहा छ । जिताएर पठाएपछि बाटो पिच गर्ने काम हुन्छ, ढुक्क हुनुस् ।’

पछिल्लो समय नेपालीको घुम्ने बानी विकास भएको भन्दै उनले अब धम्पुसमा अझै पर्यटक भित्र्याउने योजना ल्याउन लाग्नुपर्ने बताए । ‘यहाँ पाहुना कसरी ल्याउने, बढाउने भन्ने सुरुमा स्थानीयले सोच्नुपर्छ । त्यहीअनुसार लागेपछि सरकारले पनि हेर्छ ।’ वैरागीले भने–‘मैले जितेँ भने यहाँको घट्टेखोलादेखि धम्पुस आउनेसम्मको बाटो कालोपत्रे गरेर छोड्छु ।’

प्रदेशसभा उम्मेदवार गणेशमान गुरुङले आफु धम्पुसको स्थानीयको हैसियतले पनि धम्पुसमा पर्यटन प्रवद्र्धन र समग्र धम्पुसको विकासको लागि कुनै कसुर बाँकी नराख्ने वचन दिए ।

उम्मेदवारद्धय बैरागी र गुरुङले शनिबार नै माछापुच्छ्रे–६ धितालका मतदातासँग पनि भेटघाट गरेका छन् । त्यहाँ आफूले होमस्टे पर्यटन प्रवर्द्धन गर्न आवश्यक देखेको उनीहरुले बताए । प्रदेशको पर्यटन मन्त्रालयसँग होमस्टे प्रवर्द्धनका कार्यक्रम भएकाले समन्वय गरेर होमस्टे विकासमा अझै काम गर्न सकिने उनीहरुले स्थानीयसँग बताए । जितेपछि आफूले गाउँका सडक पूर्वाधारसहित अन्य समस्या समाधान गर्न संघमा रहेर भूमिका खेल्ने प्रतिनिधि सभा उम्मेदवार बैरागीले बताए ।

कास्की ३ मा प्रतिनिधिसभामा दामोदरसहित प्रदेश सभा ३(१)मा गणेशमान गुरुङ र प्रदेश सभा ३ (२)मा राजीव पहारी उम्मेदवार छन् ।

कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् ।
प्रदेश सभा (१) तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा (२)मा अन्नपूर्ण गाउँपालिकासहित ५, ६, २२, २३ र २५ नम्बर वडा पर्छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्