सुमन घिमिरे/पाेखरा ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिखेर सम्पूर्ण नेपालीको ध्यान खिचिरहेको छ । मतदाताहरूबीच प्रतिस्पर्धी दलहरूले खडा गरेका उम्मेदवारहरूको योग्यता, क्षमता, इमान्दारिता, सम्बद्ध दलहरूको घोषणापत्र र अहिलेसम्म देखिएका कमीकमजोरी केलाउने काम भैरहेको छ ।
उम्मेदवारहरुको गुण चर्का नारा, चर्को आलोचना र चर्का अनि पूरा हुन नसक्ने आश्वासन हुन् कि शालिनता, भद्रता अनि विधायकी भूमिकालाई राम्रोसंग बुझेर जनतामा जानुलाई मान्ने ? यो पक्षलाई अहिलेको पुस्ताले निकै गहिरिएर, निकै मनन गरेर अनि उम्मेदवारहरुको विगत, योग्यता, क्षमता समेत हेर्ने गरेको पाइन्छ ।
यस्तै मतदाताहरुले पारख गरिरहेकामध्ये एक हुनुहुन्छ कास्की निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार तथा पूर्व सांसद विद्या भट्टराई । भट्टराईले उपनिर्वाचनबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गरी जनताको मन जितेकोमा विमति छैन । यससँगै उनको व्यक्तित्वको चर्चा पनि उत्तिकै अपरिहार्य छ ।
नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएर निर्वाचन हामिएकी पूर्व सांसद भट्टराईको राजनीतिक पृष्ठभूमि, योग्यता, क्षमता, लगनशीलता र इमान्दारितालाई केन्द्रविन्दुमा राखेर उनको व्यक्तित्वको सानो चर्चा गर्नैपर्छ ।
यस पटकको महासङ्ग्राममा निश्चित चुनाव जित्ने उम्मेदवारको रूपमा विपक्षीहरूबीच पनि चर्चित हुन पुगेकी विद्या भट्टराईले संसदमा पुनः प्रवेश गरेर खेल्न सक्ने रचनात्मक भूमिका अहिले उत्सुकता र प्रतिक्षाको विषय बनेको छ ।
विद्या भट्टराई उदियमान महिला नेतृत्वको नाम हो । विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय हुँदै आएकी भट्टराई पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालेकी थिईन् । मीठो बोली, सबैसँग घुलमिल हुने बानी र कसैसँग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी समुदायमा उनी लोकप्रिय थिईन् ।
शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनप्रति गम्भीर रूची र अनुशसित छात्राका रूपमा गुरुवर्गका बीचमा पनि प्रिय छात्राका रूपमा सुपरिचित रहेको उनलाई पढाउने शिक्षकहरूको मूल्याङ्कन छ ।
हुने बिरूवाको चिल्लो पात भनेझैं उनको वक्तृत्व कला र नेतृत्व क्षमताको विकास विद्यार्थीकालमा नै भएको मान्न सकिन्छ । आफ्ना विचार र धारणाहरू शालिनतापूर्वक राख्ने, अरूका कुराहरू धैर्यताकासाथ ध्यान दिएर सुन्ने र सामुहिक छलफलबाट मात्र निष्कर्ष निकाल्ने उनको आनीबानीले उतिबेला उनलाई चर्चित विद्यार्थी नेतृको रूपमा स्थापित गरेको थियो । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्वपङ्क्तिमा पुग्न उनलाई यिनै अन्तर्निहित गुणले सघाएका हुन् भन्नै पर्छ ।
स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनको भूमिका रुपान्तरित भयो । विद्यार्थी नेताका रुपमा सक्रिय रहेको समयमा त्यो बेलाका अर्का बहुचर्चित विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग उनको दाम्पत्य जीवन गाँसियो ।
विवाह पश्चात् उनले एकातिर सफल गृहिणीको रुपमा रवीन्द्रजीको पूर्णकालीन राजनीतिलाई वैचारिक परामर्शका आधारमा समेत समर्पित भएर सघाएकाे देखिन्छ भने अर्कातिर मेधावि छात्राको हैसियतमा उनले प्राप्त गरेको उच्च शिक्षाको सदुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरी रत्नराज्य क्याम्पसमा अध्यापन कार्यमा समर्पित रुपमा लागिन् ।
अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै गैरहेकाले उनी प्राज्ञिक क्षमतायुक्त बौद्धिक व्यक्तित्वका रुपमा सुपरिचित हुन थालेकाेे देखिन्छ । नियति, समय र परिस्थितिले अहिले उनको भूमिका बदलिन पुगेको छ ।
सहधर्मिणीको रुपमा उनले रवीन्द्रजीलाई उच्च राजनीतिक जिम्मेवारीमा पुग्न सघाउँदै आएकी थिईन् । तापनि दैवको लीला पर्यटन मन्त्रीको हैसियतले रचनात्मक र लोकप्रिय कार्य गर्दागर्दै हवाई दुर्घटनामा परी रवीन्द्रजीको इहलीला समाप्त भयो ।
एकल पाारिवारिक दायित्व र निर्वाहको कर्तव्य निर्वाहका साथसाथै रवीन्द्रजीको राजनीतिक उत्तराधिकार पनि उनीमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रजीको अप्रत्यासित र असामयिक अवशानले सिर्जना गरेको रिक्तताका बीचमा उनलाई नै निर्वाचनमा उतार्ने निर्णय गरिदियो ।
उनी उच्चअध्ययन, अनुसन्धानात्मक कार्य र प्राध्यापनलाई नै निरन्तरता दिने मानसिकतामा रहेको भए पनि पार्टीले गरेको विश्वास र दिएको अवसरले गर्दा शोकलाई शक्तिमा बदलेर उनी कास्की २ बाट निर्वाचन जितेर पहिलो पटक संसदमा गरिन् ।
उनी संसद प्रवेशको अल्पकालमा नै संसदभित्र आफ्नो बौद्धिक राजनीतिक छवि निर्माण गर्न सफल देखिएकाे निर्विवाद छ । स्व. रवीन्द्रजीको विराशत धान्न मात्र होइन आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्न पनि काविल देखिएकी उनकाे निर्वाचन क्षेत्रका मतदाताहरूको टिप्पणी छ । यस पटक पनि उनले स्वर्गीय पति तथा नेकपा एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीको विराशत धान्ने स्वतन्त्र पर्यवेक्षकहरूको निर्क्यौल छ ।